काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगन्ज र जनसेवामा कार्यरत ४२ जना प्रहरीका कोरोना संक्रमण देखिएको छ । महारागन्ज वृत्तमा २२ जना जनसेवा वृत्तमा २० जना गरी ४२ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ।
बुधबार साँझ प्रहरी अस्पतालबाट आएको रिपोर्टअनुसार महाराजगन्जका डिएसपीसहित २२ जनामा कोरोना संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। अहिले संक्रमित प्रहरीहरूलाई आइसोलेसनमा राखिएको छ । उनका अनुसार लक्षण देखिएपछि मात्रै अस्पतालमा लगिएको छ। अन्यलाई होम आइसोलेसनमै राखिएको परिसर काठमाडौले जनाएको छ ।
महारागन्ज वृत्तमा मनमैजुमा भएको हत्याको आरोपमा पक्राउ परेका एक व्यक्तिबाट संक्रमण फेलिएको थियो। गत साउन ३१ गते प्रहरीले मनमैजु हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको थियो। त्यसका मुख्य आरोपीमा संक्रमण देखिँदा उनीबाट सुरूमा ९ जना प्रहरीमा कोरोना देखिएको थियो। उनीहरुमध्ये केहीलाई प्रहरी अस्पताल र केहीलाई दहचोकको आइसोलेसनमा राखिएको छ । संक्रमित हुनेमा तालिम सकेर भर्खरै सेवा सुरु गरेका प्रहरी सहायक निरीक्षक पनि रहेको परिसर काठमाडौले जनाएको छ ।




