इटहरी । मोरङको विराटनगर महानगरपालिकाले आजदेखि लागू हुने गरी अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ । महानगरपालिकाभित्र यात्रा विवरण नभएका १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि महानगरले संक्रमण नफैलियोस भनेर अत्यवश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो । प्रदेश–१ को प्रहरी कार्यालयमा कार्यरत प्रहरी, विराट नर्सिङ्ग होमका सञ्चालक चिकित्सकसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कहिँकतै नगएका व्यक्तिहरुमा संक्रमण पुष्टि भएकाले समुदायमै कोरोना फैलिएको अनुमान गरिएको छ । महानगरले आजबाट नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरू दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिसबाहेक अन्य सबै सेवा स्थगित गरेको हो ।
भारतीय सीमावर्ती क्षेत्रबाट हुने आवतजावतमा समेत कडाइ गरिएको छ । महानगरले पीसीआर परीक्षण दायरा बढाउन, क्वारेन्टिन थप गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।




