काठमाडौं । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण ११ जनाको मृत्यु भइसकेको छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा आपतकालीन अवस्था घोषणा गरिएको छ । भने अमेरिकामा सबैभन्दा बढी प्रभावित भएको राज्य वासिङ्गटन हो ।
क्यालिफोर्नियाका ७१ वर्षे व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ती व्यक्तिको स्वास्थ्य अवस्था कमजोर थियो र उनी क्रुज सिपबाट आएका थिए । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले बुधबार कोरोना भाइरसको परीक्षण राष्ट्रव्यापी बनाउने घोषणा गरेको छ । अहिलेसम्म अमेरिकाका १६ राज्यमा कम्तिमा १५० जनामा कोभिड–१९ का संक्रमण पुष्टि भएको छ ।
विश्वव्यापी रुपमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९२ हजार भन्दा बढी भएको छ । ८० हजार भन्दा बढी संक्रमित चीनकै छन् । अहिलेसम्म विश्वभर तीन हजार भन्दा बढी मानिसको मृत्यु कोरोना भाइरसका कारण भएको छ । मृत्यु हुने मध्ये पनि अधिकांश चीनका छन् । अमेरिकामा अहिलेसम्म मृत्यु भएका ११ जना मध्ये १० जना वासिङ्गटन राज्यका हुन् । कोरोनाको संक्रमण टेक्सास र नेब्रास्कामा पनि फैलिएको छ । बीबीसी




