एजेन्सी । बुधबार बिहान इरानमा भएको युक्रेनी विमान दुर्घटनाको कारण इरान र अमेरिकी द्धन्द्धसँग जोडिएको आशंका अमेरिका, क्यानडा र ब्रिटेनले गरेको छ ।
बुधवार तेहराननजिकै १७६ जनाको ज्यान जाने गरी भएको युक्रेनको बोइङ९७३७ दुर्घटना इरानले अमेरिकाको सैन्य अखडामा हानेको क्षेप्यास्त्र भुलबश सो विमानमा लागेको सङ्केत मिलेको बताइएको छ ।
युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको भन्ने विभिन्न गुप्तचरी स्रोतहरूबाट संकेत आएको तर कुनै वायुसेनाको विमान नखसेकोले सो यात्रुवाहक विमाननै निशानामा परेको अन्तराष्ट्रिय मिडियाले दाबी गरेका छन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले घटनाको प्रारम्भिक प्रमाणले त्यसतर्फ संकेत गरेको भन्दै घटनाको पूर्ण छानविन हुनुपर्ने माग गरेका छन्। उनले घटनाका बारेमा सबै शंकाहरूको निष्पक्ष जाँच हुनुपर्ने बताएका छन्।
इरानी सरकारका एक प्रवक्ताले चाहिँ सो आरोपप्रति आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन्।
बीबीसीका अनुसार इरानी अधिकारीहरूले ‘हास्यास्पद’ भन्दै पछिल्लो रिपोर्टलाई अस्वीकार गरेका छन्। त्यसलाई उनीहरूले अमेरिकी ‘मनोवैज्ञानिक कारबाही’ को एउटा हिस्सा भनेका छन्।
तर इरानले सो विमानको ब्ल्याक बक्स विमान निर्माता कम्पनी बोइङलाई भने नदिने बताएको छ ।
उनले उक्त विमानमा यात्रा गरिरहेका यात्रुहरूका देशलाई दुर्घटनाको कारण पत्ता लगाउने अनुसन्धान गर्न आफ्ना प्रतिनिधि इरान पठाउन आग्रह पनि गरे।
सीबीएस न्यूजले अमेरिकी गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै जनाए अनुसार प्रहार गरिएका दुईवटा क्षेप्यास्त्रमा एउटा भू उपग्रहले इन्फ्रारेडसम्बन्धी कमजोरी पत्ता लगाएको थियो।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र वरिष्ठ अमेरिकी गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै न्यूजवीकले युक्रेनी विमानलाई रुसमा निर्मित टोर क्षेप्यास्त्रबाट मार हानिएको हुन सक्ने जनाएको छ।
गत शुक्रबार इराकको राजधानी बग्दादमा अमेरिकी ड्रोन हमलामा आफ्ना सर्वोच्च सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि इरानले पनि त्यसको बदला स्वरुप बुधबार बद्दाद स्थित दुई अमेरिकी आधार क्षेत्रमा एक दर्जन मिसाइल हमला गरेको थियो।




