काठमाठौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आसन्न चुनावमा सकेसम्म गठबन्धनबीच सहकार्य गर्ने अन्यथा एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन् ।
दिवङ्गत नेता पोष्टबहादुर बोगटीको नुवाकोटको पिपलटारमा निर्माण गरिएको पूर्णकदको शालिक अनावरण गर्दै अध्यक्ष प्रचण्डले एमसिसी कार्यान्वयनका पक्षमा देखिएको समस्या समाधानका लागि सत्तारुढ गठबन्धनबीच भएको सहकार्य आसन्न निर्वाचनमा पनि कायमै राख्न कोसिस गरिने बताए ।
उनले भने,‘केन्द्रीय कमिटीको हालै सम्पन्न बैठकले निर्वाचन केन्द्रीत दुई महिने अभियानको घोषणा गरेकाले अबको समय चुनावी तयारीको रहेको छ । अब प्रदेशस्तरीय भेला तथा प्रशिक्षण गर्दै त्यसपछि जनताको घरघरमा पुगेर पार्टीलाई विजयी गराउनका लागि अपिल गर्ने नीति पार्टीले अवलम्बन गरेको छ ।’
स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनबीच तालमेल प्रयास जारी रहेको बताउँदै अध्यक्ष दाहालले भने, ‘जनतासँगको सम्बन्ध बलियो बनाएर आफ्नै खुट्टामा उभिएर चुनाव जित्न उच्च प्रथामिकता दिने हो तर सत्तारुढबीचको सम्बन्ध कायम राख्दै तालमेललाई पनि ध्यान दिने र त्यसका लागि पनि नेतृत्वले प्रयास गरिराख्छ ।’




