काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि पर्सामा भएको अधिवेशनमा संस्थापन पक्षले एकछत्र बनाएको छ । पर्सामा पार्टी सभापति शेरबहादुर देउवा पक्षधर दुई तिहाइ महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । पर्सा जिल्लामा ४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १ सय महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदा संस्थापनबाट ७५ जनाले जित हासिल गरे ।
संस्थापन इतर पक्षका भने कुल २५ जना मात्रै महाधिवेशन प्रतिनिधिमा निर्बाचित भए । पर्सामा संस्थापन देउवा पक्षमा केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजय चौरसीया, पूर्वमन्त्री एंव पूर्व जिल्ला सभापति सुरेन्द्र चौधरी, प्रदेश सरकारका मन्त्री ओम प्रकाश शर्माबीच समीकरण बनेको थियो । संस्थापन पक्ष इतर पक्षमा भने जिल्ला सभापति अजय द्धिवेदी र पूर्वजिल्ला सभापति राजेन्द्रबहादुर अमात्यको समीकरण रहेको थियो । जिल्ला सभापति द्विवेदीविमलेन्द्र निधीका सारथि मानिन्छन् ।
बुधबार भएको निर्बाचनको विहीबार साँझ घोषित परिणाम अनुसार पर्सा क्षेत्र नम्बर १ मा मात्र संस्थापन इतरको पर्चश्व देखिएको छ । पर्सा १ मा २५ जना महाधिवेशन प्रतिनिधिमध्ये संस्थापन पक्षका ५ जना र संस्थापन इतर समूहका २० जना छन् । क्षेत्र नम्बर २ मा भएको निर्वाचनबाट निर्वाचित २५ जना महाधिवेशन प्रतिनिधिमध्येसंस्थापन पक्षले २४ जना पोल्टामा पारेको छ । उक्त क्षेत्रमा संस्थापन इतरले एकवटामा मात्र चित्त बुझाउनुपरेको छ । संस्थापन इतर समूहबाट जिल्ला सचिव श्याम पटेल विजीय भएका हुन् । पूर्वजिल्ला सभापति एंव संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य महाधिवेशन प्रतिनिधिमा हारेका छन् ।
पर्साको क्षेत्र नम्बर ३ मा भने संस्थापन समूहले २५ सिटमै ‘क्लीनस्वीप’ नै गरेको छ । यता पर्सा ४ मा भने संस्थापन समूहका २१ जनाले विजयी हासिल गर्दा संस्थापन इतर समूह४ जनामा खुम्चिएको छ । पर्सा क्षेत्र नम्बर ४ मा सर्वसम्मती र अन्यमा निर्वाचन भएको हो । क्षेत्रीय अधिवेशनबाट निर्वाचित क्षेत्रीय सभापतिमध्ये तीन वटामा संस्थापन पक्षले पकड जमाएको छ । संस्थापन इतर समूहबाट एकजना मात्र क्षेत्री सभापति निर्वाचित भए ।
क्षेत्र नम्बर १ मा संस्थापन इतर समूहका अरविन्द गुप्ता सभापतिमा निर्वाचित भएका हुन् । क्षेत्र नम्बर २ को सभापतिमा निर्वाचित महम्मद शाहाबुद्धिन , क्षेत्र नम्बर ३ का सभापति श्रीकृष्ण चौहान र क्षेत्र नम्बर ४ का सभापति जीवनकृष्ण सापकोटा संस्थापन समूहका हुन् ।
१४ वटा पालिका रहेको पर्सामा, पालिका अधिवेशन र जिल्ला अधिवेशन भने केन्द्रीय महाधिवेशनपछि मात्रै हुने भएको छ ।




