श्रमिकले एक महिनाको आधारभूत पारिश्रमिक बराबर रकम पाउनुपर्ने, सुविधा नदिए सम्बन्धित कार्यालयमा उजुरी गर्न सकिने
काठमाडौं । श्रमिकलाई कानुनअनुसार चाडपर्व खर्च उपलब्ध नगराउने रोजगारदाता तथा प्रतिष्ठानमाथि कारबाही गरिने श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ। विभागले सबै रोजगारदाता र प्रतिष्ठानलाई श्रमिकले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको हो।
विभागका अनुसार केही रोजगारदाता तथा प्रतिष्ठानले श्रमिकलाई चाडपर्व खर्च नदिएको भन्दै गुनासो आउने गरेको छ। कानुनले तोकेको सुविधा उपलब्ध नगराउने प्रतिष्ठानलाई प्रचलित श्रम कानुनअनुसार कारबाही गरिने विभागका प्रवक्ता मणिनाथ गोपले स्पष्ट पारेका छन्।
श्रम ऐन, २०७४ को दफा ३७ मा प्रत्येक श्रमिकले आफूले मनाउने प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसारको चाडपर्वका लागि एक महिनाको आधारभूत पारिश्रमिक बराबर रकम चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ।
उक्त व्यवस्थाअनुसार रोजगारदाताले श्रमिकलाई कानुनले सुनिश्चित गरेको सुविधा उपलब्ध गराउनुपर्ने हुन्छ। विभागले चाडपर्व खर्च नपाएका श्रमिकलाई आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन आग्रह गरेको छ। चाडपर्व खर्च नपाएका श्रमिकले आफ्नो गुनासो विभागसमक्ष पुर्याउन सक्ने गरी इमेलमार्फत उजुरी, गुनासो तथा सुझाव दिने व्यवस्था गरिएको विभागले जनाएको छ। यसका लागि क्यूआर कोडको समेत व्यवस्था गरिएको छ। विभागका प्रवक्ता गोपले कानुनले तोकेको सुविधा उपलब्ध नगराउने रोजगारदाता तथा प्रतिष्ठानलाई चाडपर्व खर्च दिन निर्देशन दिइएको बताए। निर्देशन पालना नगरे श्रम ऐनअनुसार कारबाही अघि बढाइने उनको भनाइ छ।
चाडपर्वका बेला श्रमिकलाई आर्थिक राहत उपलब्ध गराउने उद्देश्यले कानुनमा व्यवस्था गरिएको सुविधा कार्यान्वयन गराउन विभागले रोजगारदातालाई सचेत गराएको हो। विभागको निर्देशनसँगै चाडपर्व खर्च नपाएका श्रमिकले कानुनी प्रक्रियामार्फत आफ्नो हकदाबी गर्न सक्नेछन्।





