काठमाडौं । अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट अन्तिम खेलमा एक गोल र दुई एसिस्ट दिँदै सन्यास लिएका छन् । बुधबार बिहान भएको मैत्रीपूर्ण खेलमा बेनिनलाई ३-० गोलले हराउँदै अर्जेन्टिनाले मेस्सीलाई उत्कृष्ट बिदाई गरेको हो ।
स्टाडियो मोनुमेन्टलमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन मेस्सीले एक गोल गर्दा निको पाज र निकोलस ओटामेन्डीले एक गोल थपे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८ औँ मिनेटमा ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए ।
६१ औँ मिनेटमा मेस्सीकै पासमा निको पाजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । यस्तै ७१ औँ मिनेटमा मेस्सीले आफैंले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई ३-० गोलको जित दिलाएका हुन् ।
मेस्सीले यसअघिनै अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिने घोषणा गरिसकेका थिए । सन् २००५ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीमा डेब्यु गरेका मेस्सीले २ सय ७ खेल खेल्दै १ सय २६ गोल गरेका थिए । उनी राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका छन् । उनी भन्दा अगाडि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १ सय ४६ गोलसहित अग्रस्थानमा रहेका छन् ।




