देश

सुदूरपश्चिमका देउवा पक्षीय सांसद अधिवेशन सम्पन्न गराउन केन्द्रित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा चलिरहँदा सुदूरपश्चिमका देउवा पक्षीय नेताहरू भने आफ्नै जिल्लामा पार्टीका अधिवेशन सम्पन्न गराउन केन्द्रित भएका छन्।

काठमाडौंमा महाधिवेशनको चहलपहल बढिरहेका बेला सुदूरपश्चिमका आठ जना प्रदेश सांसद वडा, नगर तथा क्षेत्रीय अधिवेशन व्यवस्थापनमा व्यस्त छन्। प्रदेशसभामा कांग्रेसका १७ सांसद रहेकामा आठ जना सांसद देउवा समूहमा खुलेर आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा अधिवेशन गराउन सक्रिय भएका हुन्।

देउवा पक्षमा खुलेका सांसदमा कैलालीका कमलबहादुर शाह, प्रकाशबहादुर बम, मधु भारती र डम्मरी महरा, अछामका मेघराज खड्का, बैतडीका शिवराज भट्ट, डडेल्धुराकी सरस्वती खड्का र दार्चुलाका विक्रमसिंह धामी छन्।

संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्रीसमेत रहेका कमलबहादुर शाहसहित उनीहरू आफ्ना जिल्लामा अधिवेशनको व्यवस्थापन र नेतृत्व चयनको प्रक्रियामा सक्रिय छन्।सुदूरपश्चिमका कांग्रेसका बाँकी आठ प्रदेश सांसद भने काठमाडौंमा जारी १५औँ महाधिवेशनमा सहभागी छन्। दिवानसिंह विष्ट, मानबहादुर रावल, पदमबहादुर शाही, जुना कुमारी दानी, बेलबहादुर राना, तुलक्षी देवकोटा, ललिता सुनार र बहादुरसिंह थापा महाधिवेशनमा सहभागी भएका छन्।

कञ्चनपुरकी सांसद गीता चौधरी भने आफू कुनै पनि समूहको अधिवेशनमा सहभागी नभएको बताएकी छन्। उनले आफू काठमाडौंको महाधिवेशनमा समेत नगएको र जिल्लामा भइरहेका वडा अधिवेशनमा पनि सहभागी नभएको बताइन्।

देउवा पक्षका नेता तथा प्रदेश सांसद मेघराज खड्काका अनुसार सुदूरपश्चिमका अधिकांश वडामा अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी रहेका वडामा मंगलबारसम्म अधिवेशन सम्पन्न गर्ने तयारी छ। उनका अनुसार केही ठाउँमा अधिवेशनप्रति कार्यकर्ताको उत्साह देखिए पनि सबै क्षेत्रमा समान किसिमको माहोल भने बन्न सकेको छैन।

कांग्रेसभित्र देउवा, गगन र शेखर समूहका रूपमा देखिएको विभाजनको प्रभाव स्थानीय तहका अधिवेशनमा समेत देखिएको नेताहरू बताउँछन्। कतिपय ठाउँमा समूहगत प्रतिस्पर्धा तीव्र भए पनि केही क्षेत्रमा कार्यकर्ताको उत्साह कमजोर देखिएको छ। यसैबीच, सुदूरपश्चिमका कतिपय स्थानीय कांग्रेस कार्यकर्ताले भने नेताहरूको समूहगत प्रतिस्पर्धाभन्दा पार्टीको एकतालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *