देश

मनोमानी भाडा असुल्ने प्रवृत्तिलाई निस्तेज पारिने

खोटाङ। मनोमानी भाडा असुल्ने प्रवृत्तिलाई निस्तेज पार्न भाडादर निर्धारण गरिएको छ ।

आफूखुसी भाडा असुल्दै आएका यातायात व्यवसायीलाई नियमन गर्न जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका सवारीसाधनमा पहिलोपटक भाडादर निर्धारण गरिएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारदेखि स्थानीय तहका केन्द्रसम्म सञ्चालन हुने यात्रुवाहक बस, मिनीबस र हाइसका लागि प्रतिकिलोमिटर प्रतिव्यक्ति रु १३ तथा जीप÷सुमोका लागि प्रतिकिलोमिटर प्रतिव्यक्ति रु १५ का दरले भाडादर निर्धारण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय खोटाङमा आयोजना गरिएको सर्वपक्षीय÷सर्वदलीय भेलाले निर्धारण गरेको यातायात भाडादर अनुसार दिक्तेल बजारदेखि जयरामघाटसम्म बस, मिनीबस र हाइसका लागि रु ३७४ तथा सुमो÷जीपका लागि रु ५११ कायम गरिएको छ ।

त्यस्तै, दिक्तेलबजारदेखि त्रिधार्मिकस्थल हलेसीबजारसम्म बस, मिनीबस र हाइसको भाडा रु २१२ तथा सुमो÷जीपको भाडा रु २९० निर्धारण गरिएको छ । दिक्तेल बजारस्थित रत्नपार्कको किरात चोकदेखि कारागारसम्म बस, मिनीबस तथा हाइसको भाडा प्रतिव्यक्ति रु १७ र सुमो÷जीपको रु २३ तोकिएको छ ।

दिक्तेलबजारदेखि मुडे, हुर्लुङ, पानीट्याङ्की, नुनथला प्रहरीचौकी, महुरे, बिजुले, अर्खौले, छापडाँडा, खोक्सेली, बोझेओडार, च्यास्मिटार, कदुवाभञ्ज्याङ, जयरामघाट, हिलेपानी तथा घुर्मीसम्मका विभिन्न सडकखण्डमा भाडा निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी गणेशकुमार गुरुङले जानकारी दिनुभएको छ ।

हिन्दू, बौद्ध र किराती धर्मावलम्बीको सङ्गमस्थल हलेसीबजारदेखि अर्खौलेसम्म बस, मिनीबस तथा हाइसको भाडा रु ६७ र जीपको रु ९२, हलेसीदेखि बिजुलेसम्म क्रमशः रु ८४ र रु ११५ तथा हलेसीदेखि नुनथलासम्म रु १२९ र रु १७५ निर्धारण गरिएको छ ।

हलेसीबजारदेखि दिक्तेलको मुडेसम्म रु १६८ र रु २२९ तथा हलेसीदेखि दिक्तेलको कारागारसम्म रु १९५ र रु २६७ भाडा तोकिएको छ । दिक्तेलबजारको रत्नपार्कदेखि सोल्मासम्म बस, मिनीबस तथा हाइसको भाडा रु २३ र जीपको रु ३०, नेर्पासम्म रु ५६ र रु ७६, दोर्पास्थित थापागाउँसम्म रु ८४ र रु ११५ तथा बानाचुङसम्म रु ११२ र रु १५३ कायम गरिएको छ । त्यस्तै, निर्मलीडाँडा, सेखुवा, खानीडाँडा र आहालेसम्मका लागि समेत दूरीअनुसार छुट्टाछुट्टै सडकखण्डको भाडादर निर्धारण गरिएको छ ।
दिक्तेलबजारदेखि जिल्लाका विभिन्न स्थानीय तहका केन्द्रसम्म सञ्चालन हुने यातायातका सवारीसाधनका लागि अस्थायी बाटो कायम गर्न प्रदेश सरकारसमक्ष सिफारिस गरिएको छ ।

सर्वपक्षीय भेलाले दिक्तेल बजारदेखि बाक्सिला बजार ४२ किलोमिटर, मानेभञ्ज्याङ (साकेला) २७ किलोमिटर, याङ्सोलाटार (दिप्रुङ चुइचुम्मा गाउँपालिका) ३० किलोमिटर तथा हरमटार (रावाबँेसी गाउँपालिका) २२ किलोमिटर, ऐसेलुखर्कबजार ४६ किलोमिटर, खोटाङबजार (खोटेहाङ गाउँपालिका) ७० किलोमिटर, चिसापानी (जन्तेढुङ्गा गाउँपालिका) ९० किलोमिटर र बागखोर (बराहपोखरी गाउँपालिका) १०० किलोमिटर, खार्मी–बालाबेँसी, भाँडबेँसी–रसुवाघाट र टेम्मा लगायतका सडकखण्डलाई अस्थायी बाटो कायम गर्न प्रदेश यातायात व्यवस्थापन समितिसमक्ष सिफारिस गरिएको छ ।

भाडादर निर्धारणका लागि आयोजना गरिएको सर्वपक्षीय भेलाले जिल्लामा सञ्चालित सार्वजनिक सवारीसाधनको सुरक्षा तथा ट्राफिक नियम पालनामा समेत कडाइ गर्ने निर्णय भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी चालकसम्बन्धी सचेतना अभिवृद्धि गर्ने तथा चालकले ट्राफिक नियम पालना गरे÷नगरेको नियमित अनुगमन गर्ने भएको छ ।

सार्वजनिक सवारी साधनको ब्रेक, टायर, बत्ती, स्टेरिङ, इन्डिकेटरलगायत सुरक्षा उपकरणको प्रभावकारी चेकजाँच तथा निरीक्षण गरी सुरक्षित अवस्थामा रहेका सवारीसाधन मात्र सञ्चालन गर्ने व्यवस्था मिलाइने भएको छ ।

मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारी चलाउने, तीव्र गति तथा लापर्वाहीपूर्वक सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने निर्णयसमेत भएको छ ।

यस्तै, अटो तथा तीनपाङ्ग्रे सवारी साधनको भाडादर निर्धारण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्ने निर्णय भएको छ । यातायात व्यवस्था कार्यालयबाट डिलक्स सुविधा लिएको प्रमाण भएका यात्रुवाहक सवारीसाधनले तोकिएको भाडादरमा २० प्रतिशतसम्म थप रकम लिन पाउने व्यवस्था छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश सरकारले जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडादर निर्धारण गर्न गरेको पत्राचारअनुसार सर्वपक्षीय भेलाले पहिलोपटक भाडादर निर्धारण गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *