काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निम्तो दिएको छ।
कांग्रेसका सहमहामन्त्री उदय शमशेर जबराले भेटेरै लामिछानेसहित नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई औपचारिक निमन्त्रणा गरेका हुन्।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुँदैछ।
सहमहामन्त्री जबराका अनुसार उद्घाटन समारोहमा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई आमन्त्रण गरिएको छ।




