देश

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची

न्युयोर्क। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन अमेरिकी सहर न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल विभिन्न देशका समकक्षी तथा प्रतिनिधिमण्डलसँगको भेटवार्तामा व्यस्त छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार न्युयोर्क पुगेका मन्त्री खनालले महासभाको साइडलाइनमा द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता, उच्चस्तरीय बैठक र विभिन्न कार्यक्रममा सहभागिता जनाइरहेका छन् ।

मन्त्री खनालले बुधबार भारतीय विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । भेटमा उनले नेपालमा हालै गएको विनाशकारी भोटेकोशी बाढीपछि भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । दुवै मन्त्रीले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल गरेका थिए ।

त्यसैगरी, खनालले जापानका विदेशमन्त्री मोतेगी तोसिमीत्सुसँग पनि भेटवार्ता गरेका छन् । भेटमा जापानी विदेशमन्त्री मोतेगीले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेका थिए । उनले विपद्को तत्कालीन अवस्थादेखि मध्यकालीन र दीर्घकालीन पुनःस्थापनासम्म नेपाललाई सहयोग गर्ने जापानको प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो ।

मन्त्री खनालले अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग पनि भेटवार्ता गरेका छन् । भेटमा नेपाल–अमेरिका सम्बन्धका साथै भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा भइरहेको राहत, पुनःस्थापना र पुनर्निर्माण तथा अमेरिकी सहयोगका विषयमा छलफल भएको नेपाली स्थायी नियोगले जनाएको छ ।

त्यसैगरी, खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री राडोस्लाव सिकोर्स्की, पोर्चुगलका विदेशमन्त्री पाउलो राङ्गेल, माल्दिभ्सका विदेशमन्त्री इरुथिशाम आदम, स्लोभाकियाका विदेशमन्त्री जुराज ब्लानार तथा भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेटवार्ता गरेका छन् । युरोपेली आयोगकी प्रथम उपाध्यक्ष तेरेसा रिबेरासँग पनि उनको भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा नेपाल–सम्बन्धित द्विपक्षीय सम्बन्ध, बहुपक्षीय सहकार्य, जलवायु परिवर्तनका असर तथा भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना र पुनर्निर्माणका विषयमा छलफल भएको जनाइएको छ ।

मन्त्री खनालले जलवायु न्यायका पक्षमा नेपालको धारणा राख्दै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेका असर र क्षतिबारे विभिन्न देशका प्रतिनिधिलाई जानकारी गराइरहेका छन् । उनले नेपाललाई जलवायु न्याय तथा विपद् पुनःस्थापनाका क्षेत्रमा आवश्यक सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरिरहेका छन् ।

यसैबीच, खनालले अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिसँग पनि भेटवार्ता गरी नेपालमा लगानी विस्तार, व्यापार तथा आर्थिक सम्बन्धका विषयमा छलफल गरेका छन् ।

मन्त्री खनालले भारत सरकारले आयोजना गरेको ‘ग्लोबल साउथ’सम्बन्धी कार्यक्रममा पनि सहभागिता जनाएका छन् । त्यस्तै, नेपालले आयोजना गर्ने ‘एभरेस्ट टु द सी’ साइडलाइन बैठकमा पनि उनले नेतृत्व गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन बुधबार न्युयोर्क पुगेका छन् । प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको महासत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनाल केही दिन न्युयोर्कमै रहने भएकाले उनका थप द्विपक्षीय भेटवार्ता तथा साइडलाइन बैठक हुने कार्यक्रम छ । उनीसँगै परराष्ट्र सचिव अमृतबहादुर राईलगायत नेपाली अधिकारीहरू सहभागी छन् भने संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापाले पनि विभिन्न बैठकमा सहभागिता जनाइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *