काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले भोटेकोशी बाढीबाट प्रभावित भई विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना सञ्चालनमा ल्याइएको बताएकी छिन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले प्रभावित बालबालिकाको खोजी, उद्धार, संरक्षण, अभिभावकको खोजी तथा पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिइएको बताइन् ।
“प्रभावित १५ स्थानीय तहमा बाल संरक्षणसम्बन्धी समन्वय संयन्त्र गठन गरी सूचना सङ्कलन, उद्धार तथा संरक्षणको काम भइरहेको छ । बालबालिकाका लागि ४० स्थानमा बालमैत्री केन्द्र सञ्चालन गरिएको छ”, मन्त्री बादीले भनिन् ।
विशेष संरक्षण आवश्यक पर्ने, आमाबुवा गुमाएका, अपाङ्गता भएका तथा दुर्गम र सामाजिक एवं आर्थिक रूपमा पछाडि परेका बालबालिकाको संरक्षणलाई सरकारले विशेष जिम्मेवारीका रूपमा लिएको उनले बताइन् ।
ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा उद्धार गरी ल्याइएका बालबालिकाका लागि आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक खोजी तथा पुनर्मिलनलगायत सेवा उपलब्ध गराउने गरी अस्थायी संरक्षण सेवा सञ्चालनमा ल्याइएको उनले जानकारी दिइन् ।
बाढीबाट अभिभावक बेपत्ता भएका वा गुमाएका बालबालिकालाई १८ वर्ष नपुग्दासम्म उचित संरक्षण, स्याहार, पोषण र स्वास्थ्य उपचार तथा कम्तीमा १२ वर्षसम्मको शिक्षा र सामाजिक सुरक्षाको व्यवस्था गर्ने गरी दीर्घकालीन स्याहार योजना अघि बढाइएको मन्त्री बादीले बताइन् ।
राष्ट्रिय बाल अधिकार परिषद्मार्फत बालबालिकाको अवस्थाबारे विस्तृत लेखाजोखा गर्ने काम स्थलगत रूपमा तीव्र पारिएको उनले जानकारी दिइन् । प्रभावित क्षेत्रमा कुनै बालबालिका समस्यामा परेको पाइएमा राष्ट्रिय बाल अधिकार परिषद्मार्फत जानकारी गराउन उनले आग्रह गरिन् ।
विपद्का समयमा प्रभावित बालबालिकाको संरक्षणका लागि सरकारको मात्र प्रयास पर्याप्त नहुने बताउँदै उनले सबैको समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरिन् ।
बालबालिकाको संरक्षण र शिक्षाका नाममा समेत अनधिकृत रूपमा ओसारपसार तथा स्थानान्तरण गर्न नपाइने स्पष्ट पार्दै मन्त्री बादीले राष्ट्रिय बाल अधिकार परिषद्को सहमति र स्थानीय तहका बाल कल्याण अधिकारीको सिफारिसबिना बालबालिकाको ओसारपसार तथा स्थानान्तरण गैरकानूनी हुने बताइन् ।
ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको संरक्षणका लागि पनि सरकारले सम्बन्धित आश्रम, स्थानीय तह र सेवाप्रदायक संस्थासँग समन्वय गरिरहेको उनले जानकारी दिइन् । विपद्बाट प्रभावित ज्येष्ठ नागरिकको उद्धार, सुरक्षित आश्रय, स्वास्थ्य उपचार, सहायक सामग्री तथा पुनःस्थापनाको व्यवस्था मिलाइएको उनले बताइन् ।
नुवाकोटको देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानबाट विस्थापित ज्येष्ठ नागरिकलाई सुरक्षित वैकल्पिक स्थानमा स्थानान्तरण गरी स्वास्थ्य परीक्षण, आवश्यक सामग्री तथा मनोसामाजिक परामर्श उपलब्ध गराइएको मन्त्री बादीले जानकारी दिइन् ।
सडक तथा यातायात सम्पर्क अवरुद्ध भएका क्षेत्रमा जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारको व्यवस्था गरिएको उनले बताइन् । उनका अनुसार हालसम्म जटिल प्रसूति अवस्थामा रहेका ११ जना महिला तथा नवजात शिशुको हवाई उद्धार गरी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारका लागि ल्याइएको छ ।
बाढी प्रभावित महिला तथा किशोरीका लागि नुवाकोट र धादिङमा १० वटा महिला तथा किशोरीमैत्री सुरक्षितस्थल स्थापना गरिएको जानकारी दिँदै मन्त्री बादीले बूढानीलकण्ठमा विपद्बाट प्रभावित तथा जोखिममा रहेका महिलाको संरक्षण, सुरक्षा र आवश्यकताअनुसार अस्थायी आश्रयको व्यवस्था गरिने बताइन् ।




