विश्व

चागोस सम्झौतामा ट्रम्पको असहमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामसँगको पहिलो भेटमा दुई देशबीचको सम्बन्ध राम्रो रहेको बताउनुभए पनि हिन्द महासागरस्थित चागोस टापुहरूको सार्वभौमसत्ता मौरिससलाई हस्तान्तरण गर्ने बेलायती योजनाको आलोचना गर्नुभएको छ ।

न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा मङ्गलबार भएको भेटमा व्यापार, फकल्यान्ड टापु, इरान र युक्रेनलगायत विषयमा छलफल भएको थियो । ट्रम्पले बर्नह्यामलाई ‘प्राकृतिक व्यवसायी’ भन्दै दुई देशबीचको सम्बन्ध विगतको तुलनामा अझ सुदृढ रहेको बताउनुभयो ।

चागोस टापु सम्झौताबारे ट्रम्पले सैन्य तथा रणनीतिक दृष्टिले महत्त्वपूर्ण क्षेत्रसम्बन्धी ‘खराब सम्झौता’ भएको टिप्पणी गर्नुभयो । बेलायतले सम्झौताअन्तर्गत मौरिससलाई टापुहरूको सार्वभौमसत्ता हस्तान्तरण गर्ने र डिएगो गार्सियास्थित अमेरिकी सैन्य अखडाको भविष्य सुरक्षित गर्ने बताउँदै आएको छ । अमेरिकी समर्थन नहुँदा सम्झौताको अनुमोदन प्रक्रिया रोकिएको छ । बर्नह्यामले भने अमेरिकी साझेदारसँग सहकार्य गरेर सम्झौता अघि बढाउने बताउनुभयो ।

भेटअघि बर्नह्यामले अमेरिका–इरान द्वन्द्व अन्त्य गर्ने उपायबारे ट्रम्पसँग छलफल गर्ने बताउनुभएको थियो । उहाँले हुथी आक्रमण रोक्न साउदी अरबलाई सीमित सैन्य सहयोग गर्ने घोषणा गर्दै बेलायती विमानले साउदी लडाकू विमानलाई इन्धन भर्ने बताउनुभयो । साथै, युक्रेनलाई हवाई प्रतिरक्षा क्षेप्यास्त्र उपलब्ध गराउन अमेरिकी सहयोग बढाउन आग्रह गर्ने उहाँले बताउनुभएको थियो ।

महासभालाई सम्बोधन गर्दै बर्नह्यामले कृत्रिम बौद्धिकता र गलत सूचनाबाट उत्पन्न जोखिम नियन्त्रण गर्न विश्वव्यापी मापदण्ड र निगरानी आवश्यक रहेको बताउनुभयो । उहाँले एआईमा पारदर्शिता र पहुँचसम्बन्धी नियम बनाउन बेलायतले अन्य देशसँग सहकार्य गर्ने बताउनुभयो । ट्रम्पले भने एआई नियमनका लागि विश्वव्यापी योजना बनाउने प्रयासलाई अमेरिकाले अस्वीकार गर्ने बताउनुभएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *