देश

मनास्लु हिमालमा मृत्यु भएका दुई आरोहीको शव काठमाडौँ लगियो

गोरखा। मनास्लु हिमालमा हिमपहिरोमा पुरिएर मृत्यु भएका दुई जनाको शव काठमाडौँ लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मनास्लुको फेदीमा रहेको चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट बुधबार बिहान हेलिकप्टरमार्फत उनीहरूको शव काठमाडौँ ल्याइएको हो ।

गत आइतबार राति मनास्लुको तेस्रो शिविरमा गएको हिमपहिरोमा भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका सहयोगी मकालु–२, सङ्खुवासभाका फुर्सेम्बा शेर्पाको मृत्यु भएको थियो ।

घटनाको तीन दिनपछि मंगलबार उनीहरूको शव सामागाउँ ल्याइएको थियो । सामागाउँबाट बुधबार बिहानै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव ल्याइएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरू मकालु एड्भेञ्चर कम्पनी प्रालिमार्फत मनास्लु आरोहणका लागि गएका थिए ।

यससँगै मनास्लुमा यो सिजनमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि सिङ्गापुरका ५० वर्षीय आरोही लाउवी सेङको दोस्रो शिविरमा मृत्यु भएको थियो । त्यस्तै, नेपाली सहयोगी २० वर्षीय टासी शेर्पाको आधार शिविरमा मृत्यु भएको थियो ।

‘किलर माउन्टेन’का रूपमा चिनिने मनास्लु आरोहणका लागि यस सिजनमा ४९३ जना विदेशी आरोहीले अनुमति लिएका छन् । तर, प्रतिकूल मौसमका कारण अहिलेसम्म कसैले पनि सफल आरोहण गर्न सकेका छैनन् ।

भारी हिमपात र अविरल वर्षाका कारण आरोहीहरू धमाधम काठमाडौँ फर्किरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *