ललितपुर । गोदावरी नगरपालिकाको सहकार्यमा सञ्चालन हुँदै आएको साझा बस सेवाले आइतबारदेखि रात्रीकालीन सेवा विस्तार गरेको छ। नयाँ व्यवस्थाअनुसार गोदावरीका विभिन्न स्थानबाट लगनखेल हुँदै बुढानिलकण्ठसम्म रातिसम्म सार्वजनिक यातायात सेवा उपलब्ध हुने भएको छ।
नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार गोदावरी नगरपालिका वडा नं. ३ स्थित गोदावरी बसपार्क र वडा नं. १० स्थित टाहाखेल बसपार्कबाट साझा बस सञ्चालन हुनेछ। यी स्थानबाट बस लगनखेल हुँदै बुढानिलकण्ठतर्फ जानेछ।
रात्रीकालीन बस सेवा राति १२ बजेसम्म सञ्चालन हुने जनाइएको छ। सेवाले रातिको समयमा आवतजावत गर्ने यात्रुलाई सहज र सुरक्षित सार्वजनिक यातायातको विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।
नगरपालिकाले साझा बस सेवामार्फत सुरक्षित यात्रा, समयमै सेवा, सहज आवागमन र स्वच्छ वातावरणलाई प्राथमिकता दिइएको जनाएको छ।




