देश

बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न कांग्रेस संसदीय दलको आग्रह

सुदूरपश्चिम। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा जारी बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ असोजभित्र प्रदेशसभाबाट बजेट पारित गरी पूर्ण कार्यान्वयनमा ल्याउन सरकारलाई आग्रह गरेको हो ।

नेपालीहरूका प्रमुख चाडपर्व नजिकिँदै गएको अवस्थामा बजेट शून्यताका कारण प्रदेश सरकारबाट प्रवाह हुने अत्यावश्यक सेवासमेत प्रभावित भइरहेको भन्दै कांग्रेस संसदीय दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारको कार्यशैलीप्रति समेत प्रश्न उठाएको छ । प्रतिपक्षको रचनात्मक भूमिका र सहभागितालाई सरकारले निरन्तर बेवास्ता गर्दै आएको कांग्रेसको आरोप छ ।

बैठकले बजेट अभावका कारण विकास निर्माण, सार्वजनिक सेवा र नियमित प्रशासनिक काम प्रभावित हुने अवस्था सिर्जना भएको भन्दै बजेट शून्यतालाई थप लम्ब्याउन नहुने निष्कर्ष निकालेको छ ।

प्रदेश सरकार सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरी तत्काल प्रदेशसभाबाट बजेट पारित गर्ने प्रक्रिया अघि बढाउन कांग्रेसले माग गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *