देश

खानेपानी आयोजना पुनर्निर्माण सुरु पछि पलाएको आशा

बनेपा (काभ्रे)। काभ्रेका बनेपा, धुलिखेल र पनौती नगरपालिकालाई लक्षित गरी अघि बढाइएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको पुनर्निर्माण प्रक्रिया सुरु गरिएको छ।

निर्माणको अन्तिम चरणमा पुगेको आयोजना दुई वर्षअघि आएको बाढीपहिरोबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माण प्रक्रिया थालिएको हो। त्यस क्षेत्रका नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा रु २० करोड बजेट विनियोजन गरेपछि पुनर्निर्माण प्रक्रिया अघि बढाइएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. राम लामाका अनुसार आयोजना पुनर्निर्माणका लागि यही महिनाभित्र बोलपत्र आह्वान गर्ने तयारी गरिएको छ। आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाइएको उनले बताए।

आयोजना पुनःसञ्चालनको तयारीसँगै तीनवटै नगरपालिकाले पुरानो आर्थिक दायित्व व्यवस्थापनमा समेत चासो देखाएका छन्। बनेपा नगरपालिका प्रमुख तथा काभ्रे उपत्यका एकीकृत खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष शान्तिरत्न शाक्यका अनुसार स्थानीय तहको स्रोतबाट मात्र आयोजना पुनर्निर्माण सम्भव नभएपछि सङ्घीय सरकारसँग समन्वय गरिएको हो।

पूर्वाधार मन्त्रालयअन्तर्गतको आयोजनाको पुनर्निर्माणका लागि रु ७९ करोडभन्दा बढी लागत अनुमान गरिएको छ। मन्त्रालयबाट बोलपत्र आह्वान भएपछि ठेक्कामार्फत काम अघि बढ्ने र अहिले विनियोजित रु २० करोडपछि आवश्यकताअनुसार थप बजेट व्यवस्थापन हुने अपेक्षा रहेको अध्यक्ष शाक्यले बताए।

बाढीबाट क्षति पुगेको पुरानो कार्यालयसमेत पुनः सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। कार्यालय सञ्चालनमा आएपछि प्रशासनिक, प्राविधिक तथा ठेक्का प्रक्रियाका काम अघि बढाउन सहज भएको उनको भनाइ छ।

बनेपा, धुलिखेल र पनौतीलाई एउटै खानेपानी प्रणालीमा जोड्ने उद्देश्यले अघि बढाइएको आयोजनाबाट करिब एक लाख ४० हजार जनसङ्ख्यालाई सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। विभिन्न मुहानबाट करिब सात हजार ७७३ लिटर प्रतिसेकेन्ड पानी सङ्कलन तथा प्रशोधन गरी वितरण गर्ने योजना छ।

यसअघि आयोजनाको समग्र भौतिक प्रगति ९६ दशमलव ६० प्रतिशत पुगेको थियो। तर बाढीपहिरोका कारण मुहान, इन्टेक, ट्याङ्की तथा मुख्य र शाखा पाइपलाइनमा क्षति पुगेपछि आयोजना पुनर्निर्माण गर्नुपर्ने अवस्था आएको हो।

आयोजना पुनर्निर्माणका लागि करिब रु ७९ करोड आवश्यक पर्ने अनुमानसहित बहुवर्षीय योजना अघि बढाइएको धुलिखेल नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जङ्गमले बताए। चालु आर्थिक वर्षमा विनियोजित रु २० करोडबाट पहिलो चरणको काम सुरु गरी आवश्यक रकम क्रमशः व्यवस्थापन गर्दै अघि बढ्ने उनले जानकारी दिए।

पनौती नगरप्रमुख रामशरण भण्डारीले आयोजना तीनवटै नगरका नागरिकको साझा सरोकार भएकाले सामूहिक प्रयासबाट सम्पन्न गरिने बताए।

आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *