देश

कृषि अनुसन्धानलाई किसानमुखी बनाउन समिति सदस्यको सुझाव

काठमाडौं । प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले कृषि अनुसन्धानलाई किसानको आवश्यकता, उत्पादन र रोजगारीसँग जोड्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई निर्देशन दिएको छ ।

समितिको बैठकमा नार्कको वर्तमान अवस्था, अनुसन्धान उपलब्धि, प्रविधि विकास तथा हस्तान्तरण, प्रदेश र स्थानीय तहसँगको समन्वय तथा भावी अनुसन्धान रणनीतिबारे छलफल भएपछि यस्तो निर्देशन दिइएको समिति सभापति अशोककुमार चौधरीले जानकारी दिए ।

बैठकमा समिति सदस्यहरूले नार्कबाट विकसित प्रविधि र उन्नत नश्ल किसानको खेतसम्म पुगे–नपुगेको तथा त्यसबाट किसानले पाएको लाभबारे अनुगमन र मूल्यांकन गर्नुपर्ने सुझाव दिएका थिए ।

समिति सदस्यहरूले नार्कको संस्थागत तथा सङ्गठनात्मक पुनःसंरचना, समयानुकूल ऐन अद्यावधिक, दक्ष जनशक्ति व्यवस्थापन र अनुसन्धानमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए । रैथाने तथा स्थानीय बाली–बीउ संरक्षण कार्यक्रम विस्तार गर्न तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

नेपालको माटो, भूगोल तथा हावापानीअनुकूल कृषि अनुसन्धान अघि बढाउन कृषि र भू–उपयोग नीतिबीच सामञ्जस्य कायम गर्नुपर्ने सुझाव पनि समितिमा दिइएको थियो ।

कृषि अनुसन्धानलाई उत्पादन, खाद्य सुरक्षा, आयात प्रतिस्थापन र रोजगारीसँग जोड्ने गरी कार्यक्रम बनाएर कार्यान्वयन गर्न सरकारलाई समितिले सुझाव दिएको छ ।

बैठकमा नार्कका कामु कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले संस्थाको वर्तमान अवस्था, अनुसन्धान उपलब्धि, प्रविधि विकास तथा हस्तान्तरण, प्रदेश तथा स्थानीय तहसँगको समन्वय र भावी अनुसन्धान रणनीतिबारे जानकारी गराएका थिए ।

उनले नार्कबाट विकसित प्रविधि किसानसम्म पुर्‍याउने, पालिकालाई बीउ तथा फलफूलका बिरुवामा आत्मनिर्भर बनाउने, पशुको उन्नत नश्ल उत्पादन गर्ने तथा डिजिटल माध्यमबाट कृषि प्रविधि प्रसार गर्ने प्रयास भइरहेको जानकारी दिए ।

यसैबीच, समितिद्वारा गठित कृषि अनुसन्धान प्रणाली सुदृढीकरण तथा नीतिगत सुधार उपसमितिका संयोजक सुजाता तामाङले उपसमितिले प्राप्त कार्यादेशअनुसार काम अघि बढाइरहेको जानकारी दिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *