काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी प्रभावितलाई सुरक्षित स्थानमा एकीकृत बस्ती विकास गरी पुनःस्थापना गर्ने योजना अघि बढाइने बताएका छन्।
सूचना तथा सञ्चार मन्त्रालयमा आज उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालसँग भएको भेटमा मन्त्री तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा भइरहेको राहत, उद्धार, सुरक्षा व्यवस्था र पुनःस्थापनाका विषयमा छलफल गरेका हुन्।
मन्त्री तिमिल्सिनाले जोखिमयुक्त स्थानमा पुनःबस्ती बसाल्न नहुने भएकाले सुरक्षित स्थान पहिचान गरी एकीकृत बस्ती विकासको अवधारणाअनुसार पुनःस्थापनाको तयारी गर्नुपर्ने बताए। यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर योजना अघि बढाइने उनले जानकारी दिए।
भविष्यमा बाढी तथा अन्य विपद्बाट प्रभावित नहुने गरी सुरक्षित स्थानमा बस्ती विकास गर्न आवश्यक तयारी भइरहेको उनले बताए। पुनःस्थापनाका लागि गिट्टी, बालुवा, काठलगायत स्थानीय स्रोतसाधनको व्यवस्थापन स्थानीय तहबाट गर्न सकिने र सङ्घीय सरकारले आवश्यक नीतिगत, आर्थिक तथा प्राविधिक सहयोग गर्ने उनको भनाइ थियो।
उत्तरगया गाउँपालिका अध्यक्ष अर्यालले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कामलाई अझ व्यवस्थित बनाउनुपर्ने, प्रभावितको तथ्याङ्क तथा विवरणमा एकरूपता कायम गर्नुपर्ने र अस्थायी आवास तथा दीर्घकालीन पुनःस्थापनाका लागि छुट्टाछुट्टै समिति बनाएर काम गर्नुपर्ने विषयमा मन्त्री तिमिल्सिनाको ध्यानाकर्षण गराए।
विभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट भइरहेको सहयोगलाई प्रभावितको आवश्यकताका आधारमा व्यवस्थित गर्नुपर्नेमा पनि अध्यक्ष अर्यालले जोड दिए।
छलफलमा प्रभावितको वास्तविक आवश्यकता पहिचान गरी उपलब्ध स्रोतसाधन उचित रूपमा वितरण गर्ने तथा बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको लालनपालन, पठनपाठन र भविष्यको व्यवस्थापनमा विशेष ध्यान दिने विषयमा समेत छलफल भएको थियो।




