देश

भोटेकोशी बाढीः काभ्रेका ३७ जना अझै सम्पर्कविहीन, तीन जनाको कुशको शव बनाएर अन्त्येष्टि

काभ्रेपलाञ्चोक। भोटेकोशी नदीमा आएको बाढीमा परी तीन सातादेखि काभ्रेपलाञ्चोकका ३७ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्। लामो समयसम्म कुनै खबर नआएपछि बेपत्ता तीन जनाको परिवारले कुशको शव बनाई परम्पराअनुसार अन्त्येष्टि गरेका छन्।

जिल्ला प्रशासन कार्यालयको आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाढीपछि सम्पर्कविहीन भएका ३७ जना हालसम्म परिवार तथा प्रशासनको सम्पर्कमा आएका छैनन्।

सम्पर्कविहीन हुनेमा चौँरी देउराली गाउँपालिका–५ का हेमन्त चौलागाईं र प्रतीक गौतम, वडा नं ७ की सम्झना मोक्तान, चौँरी देउराली–२ का राजेन्द्र प्रधान, पनौती–५ का दिनेश श्रेष्ठ, पनौती–३ का अच्युतम सापकोटा र पनौती–९ का अर्जुन खत्री केसी रहेका छन्।

यस्तै, बनेपा–९ का उद्धव सापकोटा, बनेपा–१० का बालकृष्ण रञ्जित र प्रह्लाद गिरी, बनेपा–८ का एगेश श्रेष्ठ, आशिष गुभाजु र भोगेन्द्रकुमार खत्री तथा बनेपा–१३ की प्रकृति डङ्गोल पनि सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ।

पाँचखाल–११ का मिलन खरेल र राजकुमार गौतम, पाँचखाल–३ का ज्ञानेन्द्रलाल श्रेष्ठ, भुम्लु–१ का महेश पन्त, मिलन श्रेष्ठ र प्रकाश श्रेष्ठ, भुम्लु–५ का राजकुमार रिजाल तथा भुम्लु–८ का सुवास तामाङ पनि सम्पर्कविहीन छन्।

त्यस्तै, बेथानचोक–४ का राजकुमार लोप्चन, रोजिना लोप्चन र आइते तामाङ, तेमाल–७ का विशाल तामाङ, तेमाल–८ का गणेश लामा, तेमाल–६ का सुमन तामाङ, सुजित तामाङ, डुप्साङ तामाङ, ज्ञानबहादुर राना मगर र मिलन तामाङ पनि हालसम्म सम्पर्कमा आएका छैनन्।

मण्डनदेउपुर–२ का कुलबहादुर तामाङ, धुलिखेल–२ का सङ्गम चौलागाईं र सुकुमान तामाङ, धुलिखेल–३ का मनिक भुजेल तथा धुलिखेल–८ का महेश तामाङ पनि सम्पर्कविहीन रहेको केन्द्रले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सम्पर्कविहीन नागरिकको खोजीका लागि स्थानीय प्रशासनले आवश्यक समन्वय र पहल गरिरहेको जानकारी दिए।

यसैबीच, तीन साताभन्दा बढी समयसम्म कुनै सम्पर्क तथा अत्तोपत्तो नभएपछि पाँचखाल–११ का राजकुमार गौतम तथा बनेपा–१० का बालकृष्ण रञ्जित र प्रह्लाद गिरीको परिवारले कुशको शव बनाई परम्पराअनुसार दाहसंस्कार गरेका छन्।

भोटेकोशी बाढीमा परी ज्यान गुमाएका पाँचखाल–६ का बस चालक दिलकुमार श्रेष्ठ र रोशी–९ का शङ्खबुद्ध तामाङको शव भने यसअघि नै फेला परिसकेको काभ्रेपलाञ्चोक प्रशासनले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *