देश

जेनजीले उठाएका प्रश्नको जवाफ दिने ठाउँमा आज हामी उभिएका छौँ : रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा सडकबाट उठाइएका प्रश्नको जवाफ दिने ठाउँमा अहिले आफूहरूलाई समयले उभ्याएको बताएका छन् ।

आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेले जेनजी आन्दोलन कुनै राजनीतिक दल विशेषको आह्वानमा नभई पूर्णतः स्वस्फूर्त जागरणका रूपमा भएको बताएका हुन् ।

“हिजो सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ । र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ,” उनले विज्ञप्तिमा भनेका छन् ।

लामिछानेले वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताबाट सिर्जित निराशाविरुद्ध सचेत युवा पुस्ता सडकमा उत्रिएको बताएका छन् ।

उनले भदौ २३ र २४ गते भएका घटनालाई स्मरण गर्दै त्यस क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । परिवर्तनको आवाज उठाउँदा युवा पुस्ताको रगत बगेको देख्नु आफूहरूका लागि पीडादायी क्षण भएको उनको भनाइ छ ।

“भदौ २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्,” उनले भनेका छन् ।

परिवर्तनका लागि अब कुनै पनि आमाको काख रित्तिन नपरोस् भन्ने कामना गर्दै लामिछानेले नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै ज्यान गुमाएका आन्दोलनकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । कर्तव्य पालनका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीप्रति पनि उनले सम्मान व्यक्त गरेका छन् ।

आन्दोलनका क्रममा अङ्गभङ्ग भएका, घाइते तथा मानसिक र शारीरिक चोट भोगेकाहरूप्रति सम्मान व्यक्त गर्दै उनले राज्यले पीडित परिवारको उचित हेरचाह, घाइतेको पूर्ण उपचार र दीर्घकालीन पुनःस्थापनाको दायित्व पूरा गर्नुपर्ने बताएका छन् ।

जेनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा नभएको दोहोर्‍याउँदै लामिछानेले यसलाई राजनीतिक लाभको औजार नबनाउन सबै राजनीतिक दल र नेताहरूलाई आग्रह गरेका छन् ।

“कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्नु हुँदैन,” उनले भनेका छन् ।

लामिछानेले रास्वपाको कामप्रति युवा, नागरिक समाज र आम नागरिकको रचनात्मक खबरदारी तथा कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर हुनुपर्ने बताएका छन् । साथै, आम मनोविज्ञानमा निराशाको भाष्य स्थापित हुन नदिन पनि उनले आग्रह गरेका छन् ।

नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सबै एकताबद्ध हुनुपर्नेमा जोड दिँदै उनले जेनजी आन्दोलनले अघि सारेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट रास्वपा विचलित नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *