विश्व

फिफा अध्यक्ष इन्फान्टिनोमाथि नेतृत्व छाड्न दबाब

युइएफएका अध्यक्ष अलेक्जान्डर सेफेरिनले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आगामी निर्वाचनअघि पद छाड्नुपर्ने वा नेतृत्वका लागि चुनौती सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । तर उनले आफू इन्फान्टिनोको स्थान लिन इच्छुक नरहेको स्पष्ट पारेका छन् ।

विश्वकपसहित फिफाका प्रतियोगितामा निजी लगानी भित्र्याउने इन्फान्टिनोको विवादास्पद योजना त्यागिए पनि त्यसलाई लिएर उनीमाथि राजीनामाको दबाब बढेको छ । युइएफएले फिफाका प्रतियोगिता बहिष्कार गर्ने चेतावनी दिएको छ भने केही महादेशीय तथा राष्ट्रिय फुटबल महासङ्घले इन्फान्टिनोप्रतिको समर्थन फिर्ता लिएका छन् ।

सेफेरिनले सोमबार ‘द रेस्ट इज पलिटिक्स’ पोडकास्टमा आफू फिफा अध्यक्ष बन्न इच्छुक नरहेको बताए । आफूलाई युइएफएमै काम गर्न मन पर्ने र जीवनको कुनै चरणमा कामबाहेकका विषयमा पनि समय दिनुपर्ने उनको भनाइ छ । आफू पदका लागि इच्छुक नभएकाले इन्फान्टिनोको आलोचना अझ विश्वसनीय हुने उनले बताए ।

इन्फान्टिनोले निजी लगानी खोज्ने योजना सार्वजनिक गरेपछि सेफेरिन उनका प्रमुख आलोचक बनेका छन् । उनका अनुसार इन्फान्टिनोको यसअघिको बलियो समर्थन अहिले कमजोर बनेको छ । आगामी मार्चमा मोरक्कोमा हुने फिफा कङ्ग्रेसमा इन्फान्टिनोले पुनः उम्मेदवारी दिए उनीविरुद्ध प्रतिस्पर्धी उम्मेदवार खडा हुने सेफेरिनले बताए ।

कन्काकाफका अध्यक्ष भिक्टर मोन्टाग्लियानी र एसियाली फुटबल महासङ्घ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल–खलिफालाई सम्भावित चुनौतीकर्ताका रूपमा हेरिएको छ ।

सन् २०१६ मा सेप ब्लाटरको उत्तराधिकारीका रूपमा फिफा अध्यक्ष बनेका इन्फान्टिनोले त्यतिबेला युरोपेली राष्ट्रहरूको व्यापक समर्थन पाएका थिए । तर पछिल्लो विवादपछि उनको नेतृत्वप्रति असन्तुष्टि बढेको सेफेरिनको भनाइ छ । विवाद सुरु भएयता आफूले इन्फान्टिनोसँग कुराकानी नगरेको उनले बताए ।

यसैबीच, इन्फान्टिनो स्थानीय तथा क्षेत्रीय फुटबल अधिकारीसँग भेटघाटका लागि सप्ताहन्तमा डोमिनिकन रिपब्लिक पुगेका थिए । फिफाले सार्वजनिक गरेको भिडियोमा उनले पछिल्ला घटनाबीच संवाद र विचार आदानप्रदान आवश्यक रहेको बताउँदै आफूले प्राप्त गरिरहेको समर्थनप्रति खुसी रहेको उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *