देश

नरभक्षी बाघ नियन्त्रणमा, सौराहास्थित खोरमा राखियो

नारायणगढ (चितवन)। भरतपुर महानगरपालिका–२८ जितपुरका ६५ वर्षीय मङ्गले बोटेको ज्यान लिने बाघलाई नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित खोरमा राखिएको छ।

प्रहरीका अनुसार मङ्गले बोटे मङ्गलबार बिहान सोही स्थानका ५५ वर्षीय जीवन बोटेसँग मर्निङवाकमा निस्किएका थिए। केही समयपछि उनी सम्पर्कविहीन भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको थियो। बाघको आक्रमण भएको आशंका भएपछि नेपाली सेना, चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा हात्तीसमेत परिचालन गरी खोजी कार्य तीव्र बनाइएको थियो।

खोजीका क्रममा घटनास्थलबाट करिब चारदेखि पाँच किलोमिटर पूर्वतर्फ राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा एक व्यक्तिको शव फेला परेको थियो। पछि उक्त शव मङ्गले बोटेको रहेको उनका छोराले सनाखत गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मानिसमाथि आक्रमण गर्ने बाघको खोजीलाई त्यसपछि थप तीव्र पारिएको थियो। सोही क्षेत्रमा बाघ देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिकले डार्ट प्रयोग गरी नियन्त्रणमा लिएका थिए।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मानिस मृत अवस्थामा फेला परेपछि बाघको खोजीलाई विशेष प्राथमिकता दिइएको थियो। सबै पक्षको समन्वय र प्रयासपछि बाघलाई सुरक्षित रूपमा नियन्त्रणमा लिन सफल भएको उनले बताए।

उनका अनुसार नियन्त्रणमा लिइएको बाघ भाले हो र यसको उमेर करिब सातदेखि आठ वर्षको अनुमान गरिएको छ। बाहिरी रूपमा बाघ स्वस्थ देखिए पनि थप स्वास्थ्य परीक्षण र निगरानीपछि मात्रै यसको वास्तविक अवस्था यकिन हुने उनले बताए।

नियन्त्रणमा लिइएको बाघलाई सौराहास्थित खोरमा राखिएको छ। यससँगै चितवन राष्ट्रिय निकुञ्जका खोरमा विभिन्न कारणले नियन्त्रणमा लिइएका बाघको संख्या सात पुगेको छ। तीमध्ये पाँच भाले र दुई पोथी रहेका छन्। अधिकांश बाघ मानिसमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ। एउटा बाघ बाँकेबाट ल्याइएको हो भने अन्य बाघ चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *