सिद्धार्थनगर (भैरहवा)। बुद्ध जन्मस्थल लुम्बिनी आसपासका व्यवसायी, अध्येता र स्थानीयवासीले लुम्बिनी आउने पर्यटकको बसाइ अवधि बढाउन सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीच समन्वित प्रयास आवश्यक रहेको बताएका छन्।
विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा ठूलो सङ्ख्यामा पर्यटक आउने भए पनि अधिकांश पर्यटक केही घण्टामै फर्किने गरेकाले त्यसलाई परिवर्तन गर्न दीर्घकालीन योजना आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।
उनीहरूले ‘ग्रेटर लुम्बिनी’ अवधारणाअनुसार बुद्धसँग सम्बन्धित तिलौराकोट, देवदह र रामग्रामलगायतका ऐतिहासिक तथा धार्मिक स्थललाई एउटै पर्यटन सर्किटमा जोडेर पर्यटकको बसाइ कम्तीमा एक–दुई दिन लम्ब्याउनुपर्ने सुझाव दिएका छन्।
सरोकारवालाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न देशमा प्रत्यक्ष हवाई सेवा विस्तार, स्थानीय सांस्कृतिक गाउँ, ध्यान केन्द्र र ग्रामीण पर्यटनको विकासमार्फत लुम्बिनी क्षेत्रलाई थप आकर्षक बनाउन सकिने धारणा व्यक्त गरेका छन्।
लुम्बिनी होटल सङ्घका अध्यक्ष लीलामणि शर्माले लुम्बिनी अन्तर्राष्ट्रिय रूपमा स्थापित ‘ब्रान्ड’ भए पनि नीतिगत तथा व्यवस्थापकीय कमजोरीका कारण अपेक्षित आर्थिक लाभ लिन नसकिएको बताए।
लुम्बिनी बौद्ध विश्वविद्यालयका केन्द्रीय क्याम्पस प्रमुख प्रा. दयानिधि शर्माले लुम्बिनीलाई धार्मिक तीर्थस्थलमा मात्र सीमित नराखी विश्व बौद्ध दर्शन, शान्ति, अहिंसा तथा अध्ययन–अनुसन्धानको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए। उनले शिक्षा, अनुसन्धान, ध्यान, संस्कृति र पर्यटनलाई एकीकृत गर्दै दीर्घकालीन पर्यटन रणनीति अघि बढाउनुपर्ने बताए।
विश्वविद्यालयका पूर्व क्याम्पस प्रमुख प्रा. फणिन्द्र न्यौपानेले विश्वमा बढ्दो हिंसा, द्वन्द्व र मानसिक तनावका बीच बुद्धका करुणा, ध्यान र मध्यममार्गको सन्देश झन् सान्दर्भिक बनेको उल्लेख गर्दै लुम्बिनीलाई ‘विश्व शान्ति विश्वविद्यालय’ को अवधारणासहित अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे।
लुम्बिनी विकास कोषका सदस्य–सचिव ज्ञानीन राईले लुम्बिनीको दिगो विकासका लागि सरकार, निजी क्षेत्र, स्थानीय समुदाय र अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले गुणस्तरीय पर्यटन सेवा, पूर्वाधार विस्तार र प्रभावकारी अन्तर्राष्ट्रिय प्रचारप्रसारमा कोष प्रतिबद्ध रहेको स्पष्ट पारे।
कोषका सूचना अधिकारी हरि राईले लुम्बिनीलाई विश्वको आध्यात्मिक राजधानीका रूपमा विकास गर्ने लक्ष्यअनुसार विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै यहाँ आउने पर्यटकले ध्यान, साधना र आत्मचिन्तनमा समय बिताउने वातावरण सिर्जना गर्न विशेष पहल भइरहेको बताए।
धर्म, संस्कृति र सभ्यताका अध्येताहरूका अनुसार लुम्बिनी अब केवल बुद्ध जन्मस्थलमा सीमित नरही विश्व शान्ति, सहअस्तित्व र आध्यात्मिक चेतनाको केन्द्रका रूपमा विकसित हुँदै गएको छ। विपश्यना, योग, बौद्ध दर्शन अध्ययन, अन्तर्राष्ट्रिय सम्मेलन तथा शान्ति संवादजस्ता गतिविधि विस्तार गर्न सके लुम्बिनी विश्वकै प्रमुख आध्यात्मिक पर्यटन गन्तव्य बन्न सक्ने उनीहरूको विश्वास छ।
यता पछिल्ला वर्षमा लुम्बिनी क्षेत्रमा तारे होटल, रिसोर्ट तथा स्तरीय आवास सुविधा विस्तार भए पनि अधिकांश पर्यटक छोटो समयमै फर्किने प्रवृत्तिका कारण व्यवसायीले अपेक्षित प्रतिफल पाउन नसकेको बताएका छन्।
स्थानीय होटल व्यवसायीका अनुसार भारतका बनारस, बोधगया, दिल्ली र लखनऊका ट्राभल अपरेटरसँग प्रत्यक्ष सहकार्य गरी सञ्चालन गरिएको ‘लुम्बिनी–बनारस बीटुबी ट्राभल मार्ट’ र ‘फ्याम ट्रिप’ कार्यक्रमले धार्मिक तथा सांस्कृतिक पर्यटन बजार विस्तारमा सकारात्मक प्रभाव पारेको छ।
व्यवसायीहरूले लगानीमैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दै वार्षिक करिब १५ लाख पर्यटक आउने लुम्बिनीमा उनीहरूको बसाइ अवधि बढाउन र थप पर्यटक आकर्षित गर्न सबै सरोकारवाला पक्षबीच प्रभावकारी समन्वय र साझा रणनीति आवश्यक रहेको बताएका छन्।




