काठमाडौं । पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अष्ट्रेलिया फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।
अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा शुक्रबार बिहान भएको समूह ‘डी’ अन्तर्गतको खेलमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि कुनै पनि टोलीले जाल चुमाउन सकेन।
यस बराबरीसँगै अष्ट्रेलियाले समूह चरण ५ अंकसहित दोस्रो स्थानमा समाप्त गर्दै नकआउट चरणमा स्थान सुरक्षित गर्यो। यही समूहबाट सहआयोजक अमेरिका ७ अंकसहित समूह विजेता बन्दै अघिल्लो चरणमा पुग्यो।
पाराग्वे भने ४ अंकसहित तेस्रो स्थानमा रह्यो। तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोलीमध्ये परेमा मात्र उसले नकआउट चरणमा स्थान बनाउनेछ। यसको टुंगो अन्य समूहका खेलको नतिजापछि लाग्नेछ।
अष्ट्रेलियाले विश्वकप इतिहासमा तेस्रो पटक नकआउट चरणमा स्थान बनाएको हो। यसअघि उसले सन् २००६ र २०२२ मा पनि समूह चरण पार गरेको थियो।
यही समूहबाट टर्की ३ अंकसहित प्रतियोगिताबाट बाहिरिएको छ।




