खेलकुद

इरानसँग बराबरीपछि बेल्जियम समूह चरणबाटै बाहिरिने जोखिममा

काठमाडौं । विश्व फुटबलमा बेल्जियमले इरानसँग गोलरहित बराबरी खेलेपछि उसको विश्वकप यात्रा दबाबमा परेको छ।

लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको बेल्जियम दोस्रो पटक लगातार समूह चरणबाटै बाहिरिने जोखिममा पुगेको छ।

खेलको सुरुआती पाँच मिनेटमै केभिन डी ब्रुनेको आकर्षक क्रसमा रोमेलु लुकाकुले सही सम्पर्क गर्न सकेको भए खेलको नतिजा फरक हुन सक्थ्यो। देशका सर्वाधिक गोलकर्ता तथा नेपोलीका फरवार्ड लुकाकुले सन् २०२५ को जुनपछि पहिलो पटक सुरुआती टोलीमा स्थान पाएका थिए। बेल्जियमलाई आवश्यक जित दिलाउने जिम्मेवारी उनकै काँधमा थियो तर उनी अपेक्षाअनुसार प्रभाव जमाउन सकेनन्।

बरु इरानका गोलरक्षक अलिरेजा बेइरानभान्दले लगातार उत्कृष्ट बचाउ गर्दै बेल्जियमका प्रयास विफल बनाइदिए। त्यसैगरी युवा रक्षक नाथन एन्गोयले खेलको ६७औँ मिनेटमा रातो कार्ड पाएपछि बेल्जियम थप समस्यामा परेको थियो।

यस नतिजासँगै सन् २०१८ को विश्वकप सेमिफाइनलिस्ट बेल्जियम समूह ‘जी’ बाट अघि बढ्न असफल हुने खतरा बढेको छ। अब अन्तिम समूह चरणको खेलमा न्युजिल्यान्डलाई पराजित गरे बेल्जियम अन्तिम ३२ मा पुग्नेछ। अन्य कुनै नतिजा आएमा उसको यात्रा अनिश्चित बन्नेछ।

यता, प्रत्येक खेलअघि एक दिन मात्रै अमेरिका प्रवेश गर्न अनुमति पाएको इरानका लागि यो बराबरी ऐतिहासिक बनेको छ। यससँगै इरानले पहिलो पटक विश्वकपका सुरुआती दुई खेलमा हार बेहोर्नबाट जोगिन सफल भएको छ।

अब बेल्जियमले जुन २७ मा न्यूजिल्यान्डसँग र इरानले सोही दिन इजिप्टसँग समूह चरणको अन्तिम खेल खेल्ने तालिका छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *