देश

नेपाल–भारत सीमा मुद्दामा बेलायतको आवश्यकता छैन : भारतीय विदेश मन्त्रालय

काठमाडौं । भारतले नेपाल–भारत सीमा सम्बन्धी विषयहरू समाधान गर्न कुनै तेस्रो पक्षको आवश्यकता नरहेको स्पष्ट पारेको छ।

मंगलबार नयाँदिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई छिमेकी मुलुकबीचका विषयहरू विद्यमान द्विपक्षीय संयन्त्रमार्फत समाधान गरिनुपर्ने बताएका हुन्।

उनले नेपालका प्रधानमन्त्री बालेन साहले सीमा विवाद समाधानका लागि बेलायतको सहयोग खोजिरहेको अभिव्यक्ति दिएको विषयमा भारतले ध्यान दिएको उल्लेख गर्दै सीमा सम्बन्धी अधिकांश विषय समाधान भइसकेको बताए।

“द्विपक्षीय रूपमा समाधान हुन सक्ने विषयका लागि कुनै तेस्रो पक्षको आवश्यकता पर्दैन,” जैसवालले भने।

उनका अनुसार नेपाल–भारत सीमासम्बन्धी करिब ९८ प्रतिशत विषय समाधान भइसकेका छन् भने केही सीमित क्षेत्रका विवाद मात्रै टुङ्गिन बाँकी छन्। उनले केही स्थानमा ‘क्रस बोर्डर होल्डिङ’ तथा दशगजा क्षेत्रमा देखिएका अतिक्रमणका समस्या समाधानका लागि दुवै देश कूटनीतिक माध्यमबाट निरन्तर संवादमा रहेको जानकारी दिए।

जैसवालले गण्डक नदीको बहाव परिवर्तनका कारण केही क्षेत्रमा जटिलता उत्पन्न भएको उल्लेख गर्दै सीमा व्यवस्थापनका लागि दशगजा क्षेत्रमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको बताए।

गत आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन साहले नेपाल–भारत सीमा विवाद समाधानका लागि बेलायतको समेत सहयोग खोजिरहेको बताएका थिए। त्यसयता उक्त अभिव्यक्तिलाई लिएर नेपालमा राजनीतिक बहस तीव्र बनेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *