काठमाडौँ । सशस्त्र प्रहरी बलका दुई महिला कर्मचारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।
सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पाले आइतबार बिहान सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला राख्दै ऐतिहासिक उपलब्धि हासिल गरेका हुन् ।
सहायक हवल्दार कार्कीले बिहान १० बजेर २० मिनेटमा र सहायक निरीक्षक शेर्पाले बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथाको शिखरमा पुग्न सफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरीका तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो सदस्य हुन् भने महिला कर्मचारीका तर्फबाट यो पहिलो सफल आरोहण भएको सशस्त्र प्रहरीले स्पष्ट पारेको छ ।
इलामको सन्दकपुर गाउँपालिका– माबु निवासी शेर्पा र रामेछापको गोकुलगङ्गा गाउँपालिका–१, चुचुरे निवासी तथा राष्ट्रियस्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी कार्कीले पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेका थिए ।
उनीहरूले यसअघि मनाङस्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेका छन् ।
यस ऐतिहासिक सफलताले संगठनभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित गर्ने विश्वास सशस्त्र प्रहरीले जनाएको छ ।




