काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा . सुधा गौतमले मन्त्री पदमा आएका दुई महिनाभित्र मानसिक स्वास्थ्य, स्वास्थ्य बिमा, औषधि व्यवस्थापन र मातृ–नवजात शिशु स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण प्रगति भएको बताउनुभएको छ। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार, मन्त्री गौतमले सुशासन, संस्थागत सुदृढीकरण र सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिँदै विभिन्न नीतिगत निर्णय र कार्यक्रम अघि बढाएका छन्। उनले स्वास्थ्य बिमासम्बन्धी समस्या पहिचान गर्न विज्ञ समिति गठन गर्नुभएको छ भने स्वास्थ्य बिमा बोर्डको स्थायी दरबन्दीका लागि आवश्यक पूर्वस्वीकृति हासिल भइसकेको छ। साथै, अस्पताललाई भुक्तानी हुन बाँकी रकम निकासा गर्न अर्थ मन्त्रालयसँग समन्वय गरिएको छ।
औषधि उत्पादन, आयात, वितरण र मूल्य नियन्त्रण व्यवस्थित गर्न पनि समिति गठन गरिएको छ। नेपाल औषधि प्रयोगशालालाई मापदण्डअनुसार स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको छ। खरिद तथा आपूर्ति प्रणाली सुधारका लागि निर्देशिका र कार्यविधि पुनरावलोकन गरिएको, र स्थानीय तहका आधारभूत अस्पतालका न्यूनतम सेवा मापदण्ड तय गरिएको छ।
मन्त्रालयले जोखिमयुक्त गर्भवतीको पहिचान र सेवामा पहुँच बढाउन कार्यक्रम सञ्चालन गरेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका अस्पतालमा विशेष नवजात शिशु हेरचाह एकाइ सुदृढीकरण गरिएको छ। सोह्र संघीय अस्पतालमा मनोसामाजिक डेस्क स्थापना गरी सेवा सुरु गरिएको छ। जेनजी आन्दोलनका घाइतेलाई मनोसामाजिक सेवा उपलब्ध गराइएको छ भने ‘स्वास्थ्य मन, स्वस्थ जीवन’ नामक मानसिक स्वास्थ्य सचेतना अभियान पनि सञ्चालन गरिएको छ। सहिद परिवारलाई मनोवैज्ञानिक सहजीकरण र पुनःस्थापना कार्य पनि सुरु गर्न तयारी पूरा भइसकेको छ।
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि स्वास्थ्य जानकारी र सेवा पहुँच विस्तारमा ध्यान दिइँदै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग समन्वय गर्दै टेलिमेडिसिन सेवाको विस्तार तयारी भइरहेको छ।




