देश

बाल स्वास्थ्यमा नयाँ युगको सुरुवात : डा. भगवान कोइरालाको नेतृत्वमा बहुविशिष्टीकृत बाल अस्पताल सञ्चालन

काठमाडौं । नेपालमा बाल स्वास्थ्य सेवामा गुणात्मक सुधार ल्याउने उद्देश्यसहित वरिष्ठ मुटुरोग विशेषज्ञ डा। भगवान कोइरालाको नेतृत्वमा स्थापना गरिएको बहुविशिष्टीकृत बाल अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) ले आइतबारदेखि बाह्य बिरामी (ओपीडी)सेवा सुरु गरेको हो। बुढानीलकण्ठ नगरपालिका–७ मा अवस्थित अस्पतालमा दुई साताभित्र भर्ना (इन्डोर) सेवा पनि सञ्चालनमा ल्याइने तयारी भइरहेको डा. कोइरालाले जानकारी दिए। अस्पतालमा बालरोग विशेषज्ञबाट परामर्श सेवा, एक्स–रे, ईसीजी, इको, अल्ट्रासाउन्ड तथा प्रयोगशाला परीक्षणसहित सम्पूर्ण अत्याधुनिक डायग्नोस्टिक सुविधा उपलब्ध गराइएको छ।

हाल अस्पतालमा ५० भन्दा बढी शैयाको व्यवस्था गरिएको छ। आगामी ६ महिनाभित्र १०० शैयामा विस्तार गर्ने र एक वर्षभित्र २०० शैयाको पूर्ण क्षमताको केन्द्रीय बाल अस्पताल बनाउने लक्ष्य लिइएको डा. कोइरालाले बताए। केन्द्रीय अस्पतालसँगै सातै प्रदेशमा स्याटेलाइट सेन्टर स्थापना गर्ने दीर्घकालीन योजनाअन्तर्गत कोशी प्रदेशको दमक नगरपालिकामा पहिलो स्याटेलाइट बाल अस्पताल सञ्चालनमा आइसकेको छ। उक्त अस्पताल नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको भवनबाट सेवा दिइरहेको छ।

केन्द्रीय स्तरमा काठमाडौंमा २०० शैयाको अस्पताल र प्रदेशगत रूपमा आवश्यकताअनुसार ५० देखि १०० शैयासम्मका बाल अस्पताल निर्माण गरिने लक्ष्य रहेको छ। स्याटेलाइट सेन्टरहरूमा आईसीयू, एनआईसीयू, पीआईसीयू, जनरल तथा सर्जिकल केयर सेवा उपलब्ध गराइनेछ। अत्यन्त जटिल तथा बहुविशिष्टीकृत उपचार आवश्यक पर्ने बिरामीलाई काठमाडौंस्थित केन्द्रीय अस्पतालमा रेफर गरिने व्यवस्था गरिएको छ। नेपालको कुल जनसंख्याको करिब ४० प्रतिशत, अर्थात् झण्डै १ करोड २० लाख नागरिक १८ वर्ष मुनिका छन्। तर सरकारी तहमा विशिष्टीकृत बाल उपचारका लागि कान्ति बाल अस्पताल मात्र रहेको र त्यहाँ समेत सबै प्रकारका जटिल सेवा सहज रूपमा उपलब्ध नभएको डा। कोइरालाको भनाइ छ।

“बालबालिकाको उपचार युवाको जस्तै गरेर हुँदैन। बाल स्वास्थ्यका लागि छुट्टै समर्पित टिम र संरचना आवश्यक हुन्छ,” डा। कोइरालाले बताए। विकसित मुलुकहरूमा बालबालिकाका लागि छुट्टै अस्पतालको अवधारणा स्थापित भइसकेको उल्लेख गर्दै उनले नेपालमा पनि त्यसै दिशामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। नेपालमा उपचार अभावकै कारण पाँच वर्ष नपुग्दै प्रतिहजार ३० बालबालिकाको मृत्यु हुने तथ्यांक उल्लेख गर्दै डा। कोइरालाले समयमै गुणस्तरीय उपचार दिन सके धेरै ज्यान जोगाउन सकिने विश्वास व्यक्त गरे। देशभर करिब ६ सय बालरोग विशेषज्ञ भए पनि अधिकांश शहर केन्द्रित रहेको र दुर्गम क्षेत्रमा जटिल रोगका बालबालिका उपचारविहीन हुने अवस्था रहेको उनले बताए।

अस्पतालले गरिबीको रेखामुनिका परिवारका बालबालिकालाई निःशुल्क उपचार दिने नीति लिएको छ। “उपचार शुल्क तिर्न नसक्नेलाई निःशुल्क सेवा दिइन्छ, तिर्न सक्नेबाट लिइने शुल्क पनि सरकारी अस्पतालभन्दा महँगो हुँदैन,” डा। कोइरालाले स्पष्ट पारे। झण्डै तीन दशक लामो चिकित्सकीय अनुभव बोकेका डा। भगवान कोइरालाले बाल स्वास्थ्य सेवामा आमूल परिवर्तन ल्याउने दृढ अठोट लिएका छन्। “१० वर्षभित्र सातै प्रदेशमा बाल अस्पताल सञ्चालन गरेरै छोड्छु,” उनको संकल्प छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *