देश

आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

नरदेवीस्थित आयुर्वेद चिकित्सालयको आज अवलोकनपश्चात् उनले देशैभर रहेका आयुर्वेद स्वास्थ्य संस्थाको रिफर (प्रेषण) केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए । उनले भने, “आयुर्वेदको प्रभावकारी र गुणस्तरी उपचार केन्द्रका रूपमा यसलाई विकास गर्नुपर्छ ।”

आयुर्वेद चिकित्सालयलाई अत्याधुनिक, सुविधासम्पन्न स्वास्थ्य संस्थाका रूपमा विकास गर्नेतर्फ सरकार प्रयासरत रहेको उल्लेख गर्दै उनले योग र ध्यानलाई आयुर्वेद उपचारसँगै लैजान सुझाव दिए । स्वास्थ्य जीवशैली, आहारविहार र व्यवहारलाई आमजनमानससम्म पुर्‍याउन उनले आग्रह गरे ।

स्वास्थ्य बिमा कार्यक्रमको सुधार अहिलेको आवश्यकता भएको उल्लेख गर्दै मन्त्री गौतमले बिमामार्फत आयुर्वेद उपचारको सुनिश्चतता गरिने प्रतिबद्धता व्यक्त गरे । “आयुर्वेदलाई पनि बिमामा जोड्नेमा प्रयास गर्नेछु”, उनले भने ।

सोक्रममा मन्त्री गौतमलाई चिकित्सालयका निर्देशक डा वासुदेव उपाध्यायले सेवा प्रवाह, जनशक्तिलगायत विषयमा जानकारी गराएका थिए । विसं १९७४ मा स्थापना भएको उक्त अस्पताल १०० शय्यामा सञ्चालित छ । सो अस्पतालमा २४ घण्टा नर्सिङ सेवासहित बिरामीको जाँच, निःशुल्क औषधि वितरण, विशेषज्ञ आयुर्वेद र वैकल्पिक चिकित्सा उपचार सेवा प्रदान गरिँदै आइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *