दमौली (तनहुँ) । तनहुँ सदरमुकाम दमौलीमा निर्माण सुरु गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रअन्तर्गतको नमूना पशु अस्पताल भवन तीन पटक म्याद थप्दा पनि सम्पन्न भएको छैन।
गण्डकी प्रदेशअन्तर्गत कास्की र तनहुँ दुवै स्थानमा नमूना पशु अस्पताल भवनको निर्माण एकैसाथ सुरु गरिएको थियो। कास्कीमा भवन निर्माण सकिएर सेवा सञ्चालनमा आए पनि तनहुँमा भने काम अपूरै छ।
२०७८ कात्तिक २० गते निर्माण सुरु भएको भनी १८ महिनाभित्र काम सक्ने सम्झौता भए पनि हालसम्म तीन पटक म्याद थपिएको केन्द्र प्रमुख रविनसन अधिकारीले बताए। उनका अनुसार भौतिक प्रगति करीब ७० प्रतिशत मात्र छ। पछिलो म्यादअनुसार पुसभित्र काम सक्नुपर्नेछ।
अधिकारीले निर्माण व्यवसायीको ढिलासुस्तीका कारण काम प्रभावित भएको बताए। भवन समयमै नसक्दा एक्सरेलगायतका सेवा सञ्चालन गर्न नसकिएको उनले बताए।
चार करोड रुपैयाँ लागतमा चितवनस्थित इकोविल्डर्स प्रालिसँग भवन निर्माणको सम्झौता गरिएको हो। ६०५ वर्गमिटर क्षेत्रमा साढे दुई तले भवन बन्नेछ। भवनमा दुई प्रयोगशालासहित २३ कोठा रहनेछन्।
अस्पतालमा आकस्मिक, शल्यक्रिया, एक्सरे, रेडियोलोजी, प्याथोलोजी, गाइनोकोलोजी, पोष्टमार्टम, फार्मेसी र रेडियोलोजिकल प्रयोगशाला लगायतका सेवा सञ्चालन गरिनेछ। भवन तयार भएपछि तनहुँसँगै आसपासका पालिकाका कृषकले पनि सेवा पाउने अधिकारीले जानकारी दिए।




