काठमाडौँ ।नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले बुधबार बिहान पत्रकार सम्मेलन गर्दै पार्टीको अध्याय समाप्त भएको बताएकी छन्। उनले एकीकृत समाजवादी विघटन भएपछि आफ्नो अभियान यहीँ टुंगिएको स्पष्ट पारेकी छन्।
झाँक्रीले भनिन्, “हामीले जनताका भरोसालाई डोर्याउन एकीकृत समाजवादी निर्माण गरेका थियौं, तर अहिले पार्टी विघटनको अवस्थामा पुगेको छ। यो बाटो अवरुद्ध भयो भन्ने हामीलाई धेरै पहिले नै थाहा थियो। जे जे घटनाहरू जेनजी आन्दोलनको पृष्ठभूमिमा भए, त्यसमा हाम्रो केही भूमिका रहेको भए त्यसका लागि माफी चाहन्छौं। अब हामीले गरेका गल्ती सुधार्न आवश्यक छ।”
उनले विघटन पछि पार्टीका सबै नेता र कार्यकर्तालाई एकठाउँमा उभिएर सामूहिक रूपमा नयाँ बाटोमा अघि बढ्ने योजना बनाएको बताइन्। विभाजनले कुनै शक्ति नदिने भएकाले विचार मिल्नेबीच एकता गरेर सबै पार्टीमा आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने उनको धारणा छ।
झाँक्रीले जेनजी आन्दोलनपछि नयाँ दल बनाएर सफल नहुने संभावना देखाउँदै, युवा पुस्तालाई पुराना विचार मिल्ने दलमा गएर हस्तक्षेप गर्न सुझाव दिइन्।



