देश

गलकोट नगर अस्पताल: सुत्केरी सेवामा स्थानीय पहुँच, टाढा जानु पर्दैन

ढोरपाटन (बागलुङ)। बागलुङको गलकोट नगर अस्पतालमा प्रसूति सेवाको पहुँच बढेपछि गर्भवती महिलाहरूलाई पोखरा वा काठमाडौं जस्ता टाढा शहर पुग्न नपर्ने अवस्था सिर्जना भएको छ। गत वर्षदेखि शल्यक्रियासहितको प्रसूति सेवा सुरु भएपछि सुत्केरीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको अस्पताल प्रमुख डा. राजेश पौडेलले जानकारी दिए।

अस्पताल २०७९ पौस १७ गते गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पतालको रूपमा सञ्चालनमा आएको हो। सुरुमा वार्षिक करिब ५० सुत्केरी आउने गरेका थिए भने अहिले संख्या करिब २०० पुगेको छ। २०८१ असोज १६ गतेदेखि शल्यक्रियामार्फत प्रसूति सेवा सुरु भएपछि यसमा अझ वृद्धि देखिएको छ। गत एक वर्षमा ३५ महिला शल्यक्रियाद्वारा सुत्केरी भएका छन्।

गलकोट नगर अस्पतालले बागलुङका विभिन्न गाउँपालिकासँगै गुल्मी र म्याग्दीका बिरामीलाई समेत सेवा उपलब्ध गराउँदै आएको छ। डा. पौडेलका अनुसार, “अस्पतालप्रति विश्वास बढेपछि स्थानीय मात्र होइन अन्यत्र जिल्लाबाट पनि बिरामी आउन थालेका छन्। पहिले सुत्केरी हुन धेरैले पोखरा वा काठमाडौं जानु पर्थ्यो।”

अस्पताल परिसरमै सुत्केरी र उनका आफन्तको बसाइ र खाने–पिउने सुविधा उपलब्ध गराइएको प्रसूति प्रतिक्षा घर सञ्चालनमा आएको छ। बडिगाड–६ का रुपा सुनारका अनुसार, “अघिल्ला अनुभवको तुलनामा यहाँ धेरै सुविधा र सहजता छ। खाना पकाएर खान पाइन्छ, बस्न स्थान छ, डाक्टर–नर्सले धेरै ख्याल गर्नुहुन्छ।”

अस्पतालमा अहिले २४ घण्टे इमर्जेन्सी सेवा, फिजियोथेरापी, भिडियो एक्सरे, पोस्टमार्टम, प्रसूति सेवा, डिभियो एक्सरे, दन्तरोग उपचार जस्ता सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन्। गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेका अनुसार, “नगर अस्पताल सञ्चालनमा आएपछि नागरिकले हजारौँ रुपैयाँ खर्च गरेर टाढा जानु पर्ने बाध्यता हटेको छ। गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका धेरै मेहनत गरेको छ।”

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *