काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेपालीहरूको विदेशी बैंक खातामा अवैध रूपमा रहेको सम्पत्तिको छानबिन गरी त्यसलाई राष्ट्रियकरण गर्न अन्तरिम सरकारले ठोस कदम चाल्नुपर्ने बताएका छन्।
उनका अनुसार सुशीला कार्की नेतृत्वको सरकारले “झिना मसिना विषय र लोकप्रियता प्रदर्शनमा अलमलिने” होइन, राष्ट्रिय हितका ठूला र निर्णायक विषयमा ध्यान दिनु आवश्यक छ।
केसीले भने, “सरकारको प्रमुख दायित्व भनेको सबै राजनीतिक दल र आम नागरिकको विश्वास हासिल गर्दै शान्ति–सुरक्षाको प्रत्याभूति दिनु, तोकिएको मितिमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्नु र भ्रष्टाचारविरुद्ध निष्पक्ष कानुनी कारबाही प्रारम्भ गर्नु हो।”
उनले हालको राजनीतिक अस्थिरता र सामाजिक आक्रोशको जड नै भ्रष्टाचार, असमानता र जवाफदेहीताको कमी भएको बताउँदै, जेनजी आन्दोलनले उठाएका मागहरूलाई गम्भीर रूपमा सम्बोधन गर्न सरकारलाई आग्रह गरे। “जेनजी विद्रोहको मूल उद्देश्य सुशासन र भ्रष्टाचार उन्मूलन हो,” उनले भने, “त्यसैले सरकारले युद्धस्तरमा भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्छ।”
नेता केसीले भदौ २३ गतेको निर्मम हत्या र २४ गते भएका तोडफोड तथा आगजनीका घटनामा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष कानुनी कारबाही गर्न पनि जोड दिए। साथै, २०४७ सालदेखि राजनीतिक तथा प्रशासनिक उच्च पदमा रहेकाहरूको सम्पत्ति र निर्णयसम्बन्धी भैरव लम्साल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी सोअनुसार कारबाही गर्नुपर्ने माग गरे।
उनले हालसम्म भएका अनियमितता र अख्तियार दुरुपयोगका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न पनि प्रस्ताव गरेका छन्।




