देश

कसैले फेसबुकमा लेख्दैमा पद छोडिन्न, केन्द्रीय कमिटीले भने खुसीसाथ छोड्छु: ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीको निर्णय गरे मात्रै आफूले पद छोड्ने बताएका छन् ।

बुधवार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पार्टीका केही सुरवीरहरूले फेसबुकमा लेखेको आधारमा आफूले पद छोड्न नसक्ने अडान समेत स्पष्ट पारे ।

आफूले पदबाट हट्नुपर्छ भन्नेकुरा फेसबुकले नभई पार्टी केन्द्रीय कमिटीले भन्ने विषय रहेको बताउँदै अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटीले निर्णय गरे आफू खुसीसाथ पद त्याग गर्न तयार रहेको बताए । अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटी र महाधिवेशनको फैसलाको आधारमा आफू अघि बढ्ने बताए । उनले आफू व्यक्तिगत इच्छा नभई देश र जनताको इच्छाअनुसार अघि बढेको जिकिर समेत गरे ।

अध्यक्ष ओलीले भने ‘पार्टी भित्र पनि केही सुरवीरहरूलाई एउटा लहर चलेको देख्छु । लहड चलेको देख्छु–अध्यक्षले छोड्नुपर्छ । कसैले मेरो राम्रो बौद्धिकस्तर र विश्लेषण क्षमता राम्रो भएको हुनाले छोडेर सबैलाई खुसी पार्दिन्छ । देश अलपत्र पार्छ भन्ने व्याख्या गरेको सुन्छु । मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन, यो कमिटीले भन्नुपर्छ । यो कमिटीले हट्नुपर्छ भनेको बेला एकदम खुसीसाथ अँध्यारो मुख लगाउन घर जले पनि जान्या छैन, केही भएपनि जानेको छैन । मारिने अवस्था सृजना हुँदा पनि अँध्यारो मुख लगाउन जान्या छैन ।

फेरि पनि कमरेडहरूको आदेशमा यो आदेश दिने ठाउँ हो । यसको आदेशमा जुनसुकै कुरा गर्न पनि तयार छु । तर यो कमिटीमा बसेर यो कमिटीको कोही सदस्यले बाहिर गएर अखबारबाजी गरेर, लोकप्रियतावादको पछि कुदेर, के लोकप्रियतावाद हुन्छ यो ? कतिपय साथीहरूले मलाई भन्नुहुन्छ–तपाईँलाई त बोकेर जानै सकिँदैन । किन बोक्नु पयो ? म आफै हिँड्छु । हिँड्न नसक्ने होइन, दौडन सक्ने अवस्थामा छु । बोक्नुपर्ने छैन । प्रश्न के हो ? कसैलाई मन परेन होला । नबोक्नुस् । अव प्रश्न के हो ? केन्द्रीय कमिटीले के भन्छ, महाधिवेशनले के भन्छ ? व्यक्तिगत इच्छा पूरा गर्न म हिँड्या होइन । यो देशको इच्छा, यो देशको इच्छा पूरा गर्ने कामको अगुवाइ यो पार्टीले गर्छ ।

पार्टीले जे भन्छ, त्यो गर्छु । त्यसकारण यी कुराहरूमा स्पष्ट रहन म साथीहरूलाई आग्रह गर्न चाहन्छु । हट्ने पनि प्रक्रिया हुन्छ । विरोधहरूलाई त घरमा आगो लगाउन मन लागेको थियो । पार्टी कार्यालयमा आगो लगाउन मन लागेको थियो । मन नपराएर होइन हाम्रो केन्द्रीय कार्यालय जलाएको रु हाम्रा नेताहरूको घरमा आगो लगाएको मन पराएर हो ? त्यो विरोधीले गरेको हो ।’

अध्यक्ष ओलीले विरोधीहरूले पार्टीमाथि आक्रमण गरिरहेका बेला पार्टी भित्रकाहरुले पनि सोही अनुसारको गतिविधि गर्नेकुरा सैह्य नहुने चेतावनी समेत दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *