काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले कडा रोग लागेका बीमितका लागि एकपटक रिफर भइसकेपछि सोही अस्पतालमा ‘फलोअप’ गर्दा पुनः रिफर आवश्यक नपर्ने व्यवस्था गरेको छ।
बोर्डका उपसचिव पुण्यमाया गुरागाईंका अनुसार बीमितले प्रथम सेवा विन्दुबाट रिफर भइसकेको अवस्थामा सोही अस्पतालमा उपचार गर्दा पुनः रिफरको आवश्यकता नपर्ने व्यवस्था लागू गरिएको हो। बोर्डले यस सम्बन्धमा सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी जानकारी गराइसकेको छ।
यस व्यवस्था अन्तर्गत क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल, एनिमिया, पार्किन्सन, अल्जाइमर लगायतका कडा रोग लागेका बिरामीले एकपटक रिफर भइसकेपछि सोही अस्पतालमा उपचार गर्न सक्नेछन्।
त्यस्तै, अति गरिबीको परिचयपत्र भएका परिवार, अति अशक्त, अपाङ्ग, कुष्ठरोगी, एचआईभी सङ्क्रमित, जटिल क्षयरोग र ७० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि पनि सोही सुविधा लागू हुनेछ। आँखासम्बन्धी जटिल समस्या, गर्भवती तथा सुत्केरी, दम र कडा किसिमका मानसिक रोग भएका बिरामीलाई पनि पुनः रिफर आवश्यक नपर्ने व्यवस्था गरिएको छ।
देशभरि बोर्डमा ३७७ वटा प्रथम सेवा विन्दु र ९८ वटा रिफरल स्वास्थ्य संस्था रहेका छन्। बोर्डले सङ्घीय अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानहरूलाई प्रेषण केन्द्रको रूपमा राखेको छ। हाल बोर्डमा करिब ९४ लाख बीमित आबद्ध छन्।



