काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले आगामी निर्वाचनका लागि आवश्यक वातावरण बनाउन विशेष ध्यान दिनुपर्ने बताएका छन्।
जेन–जी आन्दोलनपछि पहिलोपटक मङ्गलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक भएका देउवाले केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए।
उनले भने, “सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको छ, तर स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन। सबै दल सहभागी हुने वातावरण बनाउन सके मात्र निर्वाचन सफल हुन्छ, त्यसतर्फ सरकारको ध्यान जाओस्।”
सभापति देउवाले देश र जनताको पक्षमा आफूले सदैव सक्दो योगदान दिएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य र प्रक्रियाको रक्षा कांग्रेसको प्रमुख जिम्मेवारी भएको पनि बताए।




