राजनीति

“महिला, जनजाति जस्तै युवाहरूको पनि छुट्टै कोटा चाहिन्छ” — उपसभापति गुरुङ

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीमा युवाहरूको सहभागिताका लागि छुट्टै कोटाको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

शनिवार पार्टी मुख्यालय सानेपामा पार्टीका युवाहरूले पार्टीको हरेक तहमा ४० प्रतिशत युवाहरूको सहभागिता सुनिश्चित गर्न माग गरेपछि उनले सो धारणा राखेका हुन् ।

उपसभापति गुरुङले पार्टीमा युवाहरूलाई समेट्न पनि सो कोटा आवश्यक रहेको तर्क गरे । उनले पार्टीमा युवाहरूलाई समेट्ने कुरालाई बेवास्ता गर्न नमिल्ने पनि स्पष्ट पारे ।

उपसभापति गुरुङले भने ‘यो सकारात्मक छ । किनभने युवाहरूलाई समेट्नु पर्दछ पार्टीमा । अहिलेसम्म युवाहरूलाई निश्चित कोटा छुट्टाइएको छैन विधानमा । त्यो छुट्टयाउनु पर्छ भन्ने उहाँको माग हो भन्ने मलाई लाग्छ । त्यसकारण यो छुट्टयाउन आवश्यक छ । युवा पंक्तिवाई इगनोर गर्नु हुँदैन । युवाहरूको सहभागिताको लागि केन्द्रीय समिति सम्म तलदेखिमाथिसम्म निश्चित कोटा नै छुट्टयाउनु पर्छ । जसरी महिला, जनजाति, मधेसीलगायतका कोटा छुट्टाइएको छ । त्यसै अनुसार युवाहरूको पनि छुट्टै कोटाको व्यवस्था गर्नुपर्छ ।’

काँग्रेसका कार्यकर्ताहरू युवाहरूको सहभागितालाई जोड दिन माग गर्दै सानेपास्थित पार्टी मुख्यालयमा भेला भएका छन् । उनीहरूको माग सकारात्मक रहेको र त्यसलाई आगामी महाधिवेशनले सम्बोधन गर्ने उपसभापति गुरुङको भनाई थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *