काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले हालको केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव अघि सार्ने भएको छ ।
आज पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने र सो प्रस्ताव आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार पार्टीभित्र एकता कायम गर्न र वर्तमान राजनीतिक परिस्थितिको मागअनुसार केन्द्रीय समिति भङ्ग गरी अध्यक्षकै संयोजनमा विशेष महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव तयार गरिएको हो । साथै विशेष महाधिवेशनको मिति तोक्ने प्रस्ताव पनि केन्द्रीय समिति बैठकमा लैजाने निर्णय भएको छ ।
यससम्बन्धी प्रस्तावमाथि छलफल गर्न माओवादी केन्द्रले असोज ९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । हालैको जेनजी आन्दोलनपछि राजनीतिक दलमा पुस्तान्तरणको दबाब बढिरहेको सन्दर्भमा माओवादी केन्द्रको यो कदमलाई महत्त्वपूर्ण मानिएको छ ।
बैठकले सरकारलाई तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । सरकारले निर्वाचन आगामी फागुन २१ गते गर्ने घोषणा गरिसकेको छ ।
यस्तै, माओवादी केन्द्रले जेनजीसहित लोकतान्त्रिक र अग्रगामी शक्तिहरूसँग संवाद र समझदारी कायम गर्ने, समाजवादी मोर्चा तथा समान विचारधाराका शक्तिसँग एकता गर्ने र वृहत मोर्चा निर्माण गर्ने पहल गर्ने निष्कर्ष निकालेको छ ।
“परिस्थिति तीव्र गतिमा बदलिँदै गइरहेको छ । यस्तो अवस्थामा परिवर्तनकारी शक्तिहरू एकजुट भएर अघि बढ्न आवश्यक छ,” प्रवक्ता सापकोटाले भने । उनले जेनजी पुस्ताले उठाएका मागहरू जायज भए पनि त्यसलाई विशेष परिस्थितिको प्रभाव मान्दै अग्रगमन पक्षधर शक्तिको एकताबद्ध प्रयास अपरिहार्य रहेको बताए ।




