देश

निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउनु सरकारको मुख्य दायित्व: सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले आगामी फागुन २१ हुने निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउने बताएका छन् ।

मंगलवार हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले सरकारको मुख्य काम सो निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउनु रहेको बताएका हुन् ।

सो निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गराउने दायित्व पनि सरकारको रहेको सञ्चारमन्त्री खरेलको भनाई थियो । उनले सो निर्वाचनको वातावरण बनाउनका लागि निर्वाचन आयोगलाई आवश्यक सबै व्यवस्था मिलाउने काममा पनि सरकारले ढिलाइ नगर्ने बताए । उनले जेनजी आन्दोलनको क्रममा भएका भएको सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको यकीन गरी त्यस कार्यमा संलग्नमाथि छानबिन गरी सरकारले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले भने ‘फागुन २१ गते शान्तिपूर्ण, स्वतन्त्र र धाँधलीरहित चुनाव गराउनका लागि वातावरण तयार गर्ने । र निर्वाचन आयोगलाई जस्तो जस्तो वातावरण चाहिन्छ, त्यो वातावरण सरकारले मिलाई दिन्छ । र सबैले चुनावमा भाग लिनसक्ने वातावरण तयार गर्ने सरकारको दायित्व हो । त्यसलाई सरकारले अर्जुन दृष्टिमा राखेको छ । अर्को कुरा जेन—जी आन्दोलनले उठाएको माग भनेको सुशासनको कुरा हो । भ्रष्टाचार नियन्त्रणको कुरा हो । विधिको शासन हो । चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाहको कुरा हो । त्यो कुराहरू रातारात हुने भन्ने हुँदैन । तर महसुस हुने गरेर काम हुन्छ । सुशासन भनेको ठ्याक्कै रोड बनाएजस्तो त हुँदैन । तर जनताले महसुस हुने गरेर अगाडि बढ्ने र तेस्रो यो जति क्षति भएको छ । त्यसको छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाउने सरकारको प्राथमिकता हो । मुख्य काम सरकारको यही हो ।’

मन्त्री खरेलले सरकारले सार्वजनिक सेवा प्रवाहको कामलाई चुस्तदुरुस्त बनाउने र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने पनि बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *