काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणमा युवाले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
भक्तपुरको सूर्यविनायकस्थित निवासमा युवा सङ्घ नेपालका पदाधिकारी र कार्यकर्तालाई सम्बोधन गर्दै उनले युवालाई देशभक्तिको भावका साथ अनुशासित र उत्तरदायी भएर अघि बढ्न आह्वान गरे।
“हामीले समाजलाई सुसंस्कृत, सभ्य र विकसित बनाउनुपर्छ। असभ्य र गैरजिम्मेवार बन्नु हुँदैन। युवाले देश र समाजप्रतिको कर्तव्य बुझेर काम गर्नुपर्छ। हावामा कुद्ने होइन,” अध्यक्ष ओलीले भने।
उनले हालैको जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटप्रति दुःख व्यक्त गर्दै यस्ता गतिविधिले मुलुकलाई ठूलो क्षति पुर्याएको बताए। “देश र जनतालाई माया गर्नेले यस्ता विनाशकारी काम गर्न सक्दैन,” उनको भनाइ थियो।
युवालाई निराश नहुन आग्रह गर्दै ओलीले थपे, “बादल लाग्यो भन्दैमा आकाश कहिल्यै नउघ्रने होइन। साँझ परेपछि सधैं साँझ मात्र रहने होइन। बिहान पनि आउँछ, उज्यालो हुन्छ। त्यसैले हामीले हरेस खानु हुँदैन।”




