काठमाडौँ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई बधाईका लागि फोन नगर्न आग्रह गरेका छन्।
मन्त्रीको शपथ ग्रहण गर्नुअघि आइतबार सामाजिक सञ्जालमार्फत पुनले बधाई दिन खादा–माला नल्याउन पनि अनुरोध गरेका छन्। उनले बधाई दिनुको साटो शिक्षा क्षेत्रमा सुधारका लागि ठोस योजना भए आफ्नै ह्वाट्सएपमा पठाउन आग्रह गरेका छन्।
पुनले लेखेका छन्, “मेरो पहिलो घोषणा— कसैले पनि ‘लौ बधाई छ’ भनेर फोन नगर्नु होला र खादा–माला लिएर नआउनु होला। बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने काम वा आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनुहोस्। मलाई कसैले पनि मन्त्री नभन्नु होला। यदि भन्नै रहर छ भने ‘कबाडी वैज्ञानिक मन्त्री’ भन्नु होला।”




