काठमाडौँ ।नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान परिस्थितिमा राष्ट्रिय एकता नै स्थायित्वको आधार भएको बताउँदै सबैलाई एकजुट हुन आग्रह गरेका छन्। संविधान दिवसको अवसरमा बिपी चिन्तन प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानविपरीत हुने कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट पारे।
नेता सिटौलाले ‘जनताको भावनात्मक एकता नै राष्ट्रको सुरक्षा कवच हो’ भन्दै जनताको सर्वोच्चतालाई बचाउन सकारात्मक माहोल निर्माण गर्नुपर्नेमा जोड दिए।
सोही कार्यक्रममा कांग्रेस नेता शशाङ्क कोइरालाले लामो संघर्षपछि प्राप्त संविधानलाई कमजोर पार्ने कार्य स्वीकार्य नहुने बताए। उनले ‘जेनजी’ आन्दोलन कल्पनाभन्दा बाहिरको घटना भएकोले यसको संयमित भएर समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्।
केन्द्रीय सदस्य पुष्पा भुसालले समाजले माग गरेका नयाँ मुद्दाहरूलाई सम्बोधन गर्न संविधान संशोधनको आवश्यकता रहेको औँल्याइन्। उनले जीवनशैलीमा परिवर्तन नआएसम्म प्रणाली राम्रो भएर मात्र नपुग्ने धारणा राखिन्।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले संविधान कार्यान्वयनमा राजनीतिक दलहरू चुकेको भन्दै अब सम्हालिएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।




