राजनीति

लिङ्देनको आग्रह जेनजी आन्दोलनमा आगजनि गर्ने र भ्रष्ट्राचार गर्नेमाथि सरकारले कारबाही गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनपछि मुलुकलाई केवल सरकार गठनको बहानामा अगाडि नधकेली भ्रष्टाचार उन्मूलनतर्फ गम्भीर कदम चाल्नुपर्ने बताएका छन्। बिहीबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि बोल्दै उनले आन्दोलनमा बलिदान दिने युवाको योगदानलाई सम्मान गर्ने सबभन्दा ठोस उपाय भ्रष्टाचारी र दमनकारीहरूमाथि कडा कारबाही गर्ने हो भने।

लिङ्देनले भने, “फगत एकथान सरकार बनाउनु आन्दोलनको आत्मालाई कमजोर पार्ने हो। अबको प्राथमिकता भ्रष्टाचारको जरामै प्रहार गर्नु हो।”उनले असफल भएको संविधानलाई नै आधार मानेर देशलाई अघि बढाउन खोज्नु मुलुकलाई असफलताको बाटोमा धकेल्ने चेतावनी पनि दिए।

बैठकले २०४६ पछि उच्च पदस्थ नेता, कर्मचारी र तिनका आफन्तहरूको सम्पत्ति छानबिन गर्ने माग अघि सारेको छ। साथै, राप्रपाले प्रदेश संरचना तत्काल खारेजी, प्रधानमन्त्रीलाई दुई कार्यकालभन्दा बढी हुने प्रावधान नहुनुपर्ने, सांसदलाई मन्त्री बन्न नदिने, स्थानीय तह गैरदलीय बनाउनेजस्ता व्यवस्थालाई प्राथमिकतामा राखेको छ।

त्यस्तै, राजसंस्थालाई अभिभावकीय भूमिकामा पुनःस्थापना गर्नुपर्ने, पूर्ण धार्मिक स्वतन्त्रता सुनिश्चित गर्ने र वैदिक सनातन हिन्दू राष्ट्रको अवधारणा कायम गर्नुपर्ने माग पनि पार्टीले दोहोर्याएको छ।

लिङ्देनले भूराजनीतिक चक्रव्युह र वैदेशिक हस्तक्षेपबाट देशलाई जोगाउन, दीर्घकालीन शान्ति स्थापनाका लागि राजनीतिक शक्तिहरूबीच नयाँ समझदारी आवश्यक भएकोसमेत औंल्याए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *