देश

नेकपा एमालेको महाधिवेशनमा बालिका ठक्करपछि बन्दसत्र ढिला सुरु, ओलीले उपचार खर्च बेहोर्ने घोषणा

काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा जारी नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिनको बन्दसत्र शुक्रबार एक घण्टा ढिलो सुरु भएको छ ।

महाधिवेशनमा सहभागी प्रतिनिधिको गाडीले हरिसिद्धि घुम्तीमा एक बालिकालाई ठक्कर दिएपछि बाटो अवरुद्ध हुँदा कार्यक्रम प्रभावित भएको हो।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने घोषणा गरेका छन्। उनले दुर्घटना अनपेक्षित भएको बताउँदै यसलाई लिएर महाधिवेशन भाँड्ने प्रयास भएकोप्रति दुःख व्यक्त गरे।

बन्दसत्रमा निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन प्रस्तुत भइरहेका छन्। निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले प्रतिवेदन पेस गरिरहेका छन्। यसअघि अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलको संगठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद् संयोजक अमृत बोहराको प्रतिवेदन प्रस्तुत भइसकेका छन्। प्रतिवेदनमाथि १० समूहमा छलफल हुने कार्यक्रम छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *