काठमाडौँ। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सत्सङ्ग समाजमा सकारात्मक सोच फैलाउने र विकृति–विसङ्गती हटाउन सहयोग गर्ने बताएका छन् ।
काठमाडौं महानगरपालिका–१०, मध्यबानेश्वरस्थित कवीर सत्सङ्ग आश्रम ट्रष्ट नेपालको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री सिंहले हालको अवस्थामा सहकार्य र सद्भाव आवश्यक रहेको उल्लेख गरे । “सत्सङ्गले मानिसलाई सकारात्मक कामतर्फ प्रेरित गर्छ,” उनले भने, “सन्तलाई बस्ने, खाने र ध्यान गर्ने सुविधाका लागि सबैले आ–आफ्नो तर्फबाट योगदान दिनुपर्छ ।”
बागमती प्रदेशका सांसद एवं पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठले जीवनलाई सही बाटोतर्फ डोर्याउन सत्सङ्ग अपरिहार्य हुने बताउँदै आफू सानैदेखि आश्रममा ध्यानकर्म र कविरका सत्यवचन सुन्दै आएको स्मरण गरे । उनले भवन निर्माणले सन्तहरूको व्यवस्थापनमा सहजता आएकोमा खुशी व्यक्त गरे ।
त्यस्तै, वडा नं. १० का वडाध्यक्ष रामकुमार केसीले टोल र समाजमा सद्विचार प्रवाह गर्न आश्रम प्रभावकारी स्थल भएको धारणा राखे ।
आश्रमका प्रमुख आर्दश दासले विसं २०५३ मा ट्रष्टको स्थापना भएको जानकारी दिँदै नवनिर्मित भवन बनेपछि देश–विदेशबाट आउने सन्तगुरु र भक्तजनलाई ध्यान, भजन, अध्ययन र विश्राम गर्न सुविधा भएको बताए । उनले भने, “सत्सङ्ग जहाँ हुन्छ, त्यहाँ शुभ हुन्छ । त्यसैले सबैलाई सत्सङ्गमा लाग्न आवश्यक छ ।”




