देश

डा. बाबुराम भट्टराईको आन्दोलनरत उखु किसानलाई समर्थन: सरकारले ठगी गरेको आरोप

काठमाडौं ।पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आन्दोलनरत उखु किसानहरूको आन्दोलनलाई समर्थन जनाएका छन्। मंगलवार काठमाडौंको माइतीघर मण्डला पुगेर उनले किसानका मागहरू जायज रहेको भन्दै सरकारले उनीहरूमाथि अन्याय र ठगी गरेको आरोप लगाए।

डा. भट्टराईले सरकारले एकतर्फी निर्णयबाट उखु किसानलाई दिने भनिएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान घटाएर ३५ रुपैयाँ पुर्‍याएको र त्यो रकम पनि समयमै उपलब्ध नगराएको भन्दै आलोचना गरे।

उनले भने, ‘लामो समयको आन्दोलनपछि किसानहरुलाई प्रतिक्विन्टलमा ७० रुपैयाँका दरले अनुदान दिने कुरा भएको थियो। त्यो घटाएर ३५ रुपैयाँ पुर्‍याउने अनि त्यो पनि समयमा नदिने अरे। सरकारले एक्लौटी गर्न मिल्छ? यो त किसानहरुमाथि बद्मासी र ठगी भएन?’ उनले आन्दोलनरत किसानहरूलाई आफ्नो जायज मागप्रति एकताबद्ध भएर अडिग रहन समेत आग्रह गरे।

मधेस प्रदेशसहित देशभरका उखु किसानहरूले सरकारले तोकेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान कायम गर्न तथा आर्थिक वर्ष २०८१/८२ को बक्यौता रकम भुक्तानीको माग गर्दै आन्दोलन गर्दै आएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *