काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले सत्ता साझेदार दल नेकपा एमालेमाथि ‘जहाँ खाली जग्गा त्यहाँ एमाले’भन्दै टिप्पणी गरेका छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले अहिले भूमि सम्बन्धी आएको विधेयकमा काँग्रेस सांसदहरूले संशोधन राख्दा समेत त्यसमाथि छलफल गर्न नदिइएको आरोप लगाए । खालि जग्गामा एमालेको आँखा गइहाल्ने उनको कटाक्ष छ । गोकर्ण रिसोर्ट, राजा वीरेन्द्रको सम्पत्ति, पोखराको लिचीबारी, गिरिबन्धु टिस्टेटमा एमालेले आँखा गाडेर बसिरहेको बताए । सांसदले नै बिचौलियाको काम गरेपछि देश कता पुग्छ रु भन्दै प्रश्न गरे ।
उनले भने ‘अहिले भूमि सम्बन्धी विधेयक छ । एमाले त जहाँ खालि जग्गा देख्छ त्यहाँ एमालेको आँखा गइहाल्दो रहेछ । जहाँ पनि तपाईँ हेर्नुस् । यो गोकर्ण रिसोर्ट, राजा वीरेन्द्रको सम्पत्तिमा एमालेका आँखाहरू हेर्नुस् । लिचीबारी पोखराको हेर्नुस्, गिरीबन्धु टिस्टेट हेर्नुस् । जताततै एमालेको मात्रै सुनिन्छ । संघीय मामिलामन्त्रीले त राजीनामा दिनुभयो । तर भूमि सुधारमन्त्री अहिले पनि जबरजस्ती बसिरहनुभएको छ । जबकी कास्की जिल्लाको एमाले कमिटीले पूरैले भूमि सुधारमन्त्रीले पनि राजीनामा दिनुपर्छ भनेको छ । बिचौलिया एक जना हुनुहुँदो रहेछ । रेशम चौधरीजीको पार्टीको । सांसद पनि बिचौलिया भइसकेपछि त के अवस्था हुन्छ देशको रु ’
सांसद कोइरालाले सरकार निरंकुशतातर्फ उन्मुख रहेको आरोप लगाए ।




